• २१ वैशाख २०८२, आइतबार

आधुनिक कृषि उपकरण सहयोगको अपेक्षामा किसान

blog

उद्योग, कृषि तथा सहकारी मन्त्रालयको किसानसँग कृषि मन्त्री कार्यक्रममा किसानहरूसँग अन्तरसंवाद गर्नुहुँदै मन्त्री खगेनसिं हाङगाम । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, वैशाख २१ गते । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले किसानहरूको एकताबाट मात्र बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सकिने बताउनुभएको छ। 

कृषि उत्पादनमा उल्लेख्य योगदान गरिरहेको सुनसरीको देवानगञ्जमा आयोजना गरिएको ‘किसानसँग कृषि मन्त्री’ अन्तरसंवाद गर्दै मन्त्री हाङ्गामले किसानहरुले व्यक्तिगत लाभहानीका आधारमा नभएर किसानको हितमा सरकारसँग सेवा सुविधा दाबी गर्नुपर्ने बताउनुभयो । उहाँले एकताबद्ध भएर समान भावनाका आधारमा काम गर्न सकेमा बिचौलियाहरूको प्रभाव घट्ने र किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउन सक्ने बताउनुभयो । 

किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको, रसायनिक मल, बिउ तथा अन्य प्राविधिक सहयोग आवश्यकता अनुसार नपाइरहेको, सिँचाइ सुविधा र विद्युतीकरणका क्षेत्रमा भोगिरहेको समस्या समाधान गर्न कोशी प्रदेश सरकार तत्पर रहेको मन्त्री हाङ्गामले बताउनुभयो । सुनसरीका दक्षिणी क्षेत्रमा अधिक मात्रामा कृषि उत्पादन हुने गरेको र मुख्य गरेर देवानगञ्ज लगायत त्यस क्षेत्रका गाउँपालिकाहरुमा धेरै मिहेनती किसानहरू रहेकका कारण उनीहरूलाई परम्परागत खेतीबाट विस्तारै आधुनिक खेती प्रणालीमा लैजाने गरी सरकारले काम गरिरहेको बताउनुभयो । 

किसानहरूका लागि विगतमा सरकारले कृषि तर्फ दिँदै आएको नगद अनुदान दुरुपयोगका घटनालाई नियन्त्रण गर्नकै लागि यस पटकदेखि सरकारले ब्याज अनुदान दिएर कृषि उत्पादनमा प्रत्यक्ष संलग्न किसानहरूलाई सहयोग गर्ने नीति लिएको मन्त्री हाङ्गामले जानकारी दिनुभयो । 

अन्तरसंवाद कार्यक्रममा किसानहरूले मकै सुकाउने ड्रायर मेसिन उपलब्ध गराउन आग्रह गरेका थिए । ड्रायर नहुँदा सडकमै मकै सुकाउन बाध्य हुनुपरेको भन्दै त्यसले अन्नको गुणस्तर कमजोर हुने र सडकमा सवारी दुर्घटना पनि बढाउने गरेको गुनासो गरेका थिए । 

किसानहरूले ड्रायर मेसिनबाहेक कृषि उपज भण्डारण गर्न गोदाम, सुरक्षित राख्न कोल्ड स्टोरेज र कृषि सिंचाइका लागि बोरिङ र मोटर उपलब्ध गराउन तथा विद्युतीय उपकरणसमेतका लागि बजेट व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । गाउँपालिकामा सातामा एक दिन किसानको खेतमा पुगेर अनुगमन गर्ने गरी जेटिएको व्यवस्था गर्न किसानहरुले सरकारसँग आग्रह गर्नुभएको थियो । 

किसानहरुले प्रतिकिलो ३ रुपियाँको दरले गोलभेडा बिक्री गरिरहेको र भन्टा, भिन्डीजस्ता तरकारीको उचित मूल्य पाउन नसकेको गुनासो गरे । खेती गर्नु अगाडिनै कुन खेती कुन र कति क्षेत्रमा लगाउने भन्ने मापदण्ड बनाइदिएको खण्डमा किसानहरूले सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने किसानहरूको सुझाव थियो । 

कार्यक्रममा मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले सरकारले किसानको घरदैलोमै पुगेर समस्या सुनिरहेको र त्यसै क्रममा देवानगञ्जका किसानहरुसँग प्रत्यक्ष सम्वाद गरेको बताउनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, वरिष्ठ पशु चिकित्सक दिपा दियाली, निर्देशनालयका प्रमुखहरू, ज्ञान केन्द्रका प्रमुख, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता, उपाध्यक्ष कुमारीबिभा यादव, वडाध्यक्ष जगनारायण मेहतालगायत अगुवा किसानहरूको ठुलो सङ्ख्यामा उपस्थिति थियो ।