रामकृष्ण बोहरा
बागलुङ, वैशाख २१ गते । भूमि समस्या समाधान आयोग बागलुङले भूमिहीनलाई निस्सा वितरणको अन्तिम तयारी थालेको छ । आयोगले भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको अन्तिम तथ्याङ्क सङ्कलन र प्रमाणिकरणको काम गरिरहेको छ ।
अयोगका विज्ञ सदस्य उमेश गौतमका अनुसार, ताराखोला गाउँपालिकामा सबैको पहिचान गरेर ३५ दिने सूचनामार्फत निस्सा वितरणको तयारी भइसकेको हो । गलकोट नगर र बरेङ गाउँपालिकामा तथ्याङ्कको अद्यावधिक सुरु गरिएको छ भने बागलुङ नगरपालिकाको पुरानो तथ्याङ्क खोजेर त्यसको प्रमाणिकरण गर्ने काम थालिएको छ ।
नगरक्षेत्रमा अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुम्वासीहरु भेटिने भएकाले नगरपालिकाले तथ्याङ्क सङ्कलनमा साथ दिए निस्सा वितरणमा पनि सहज हुने आयोग जिल्ला समितिका अध्यक्ष भीम शेरचनले बताउनुहुन्छ । कामलाई प्रभावकारी बनाउने, पीडितले जग्गा पाउने र नक्कली सेवाग्राहीलाई तथ्याङ्कबाट हटाइने शेरचनको भनाइ छ ।
अध्यक्ष शेरचनका अनुसार, कतिपय समस्या वन क्षेत्रमा बसेकोले अव्यवस्थित बनेका छन् । कतिपय बस्तीहरु तत्काल हटाउन सकिने खालका छन् भने कतिपय वर्षौदेखि बसेकाले हटाउन नसकिने पनि छन् । ती सबैको वर्गिकरण गरेर वास्तविक समस्याको निष्कर्ष निकालिने र निस्सा वितरण गरिने शेरचनले बताउनुभयो ।
बागलुङमा तीा हजार ६ सय ६१ वटा भूमिसम्बन्धी लागत सङ्कलन भएका छन् । अहिलेसम्म भूमिहीन दलितमा एक सय ४२, भूमिहीन सुकुम्वासीमा एक सय ४३ र अव्यवस्थित बसोवासमा तीन हजार तीन सय ७६ निवेदन आयोगमा परेका छन् । १० स्थानीय तह रहेको बागलुङमा सबैभन्दा धेरै ढोरपाटन नगरपालिकाबाट एक हजार ६ सय ४२ निवेदन दर्ता हुँदा जैमिनीबाट भने अहिलेसम्म कुनै पनि निवेदन नआएको आयोगले जनाएको छ ।
बागलुङ नगरपालिकामा सात सय ४९, तमानखोला गाउँपालिकामा पाँच सय ४४, निसीखोला गाउँपालिकामा चार सय ८७, गल्कोट नगरपालिकामा ९०, ताराखोला गाउँपालिकामा ५१, वडिगाड गाउँपालिकामा ४६, बरेङ गाउँपालिकामा ४२ र काठेखोला गाउँपालिकाबाट १० वटा निवेदन आयोगमा दर्ता भएका छन् ।