• २१ वैशाख २०८२, आइतबार

सामुदायिक ध्यान केन्द्रका लागि प्रभुुचेलामा पूर्वाधार निर्माण

blog

प्रभुचेलाधुरीमा निर्माण भएका पूर्वाधारको उद्घाटन कार्यक्रमका सहभागीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २१ गते ।
म्याग्दीको मालिका गाउँपालिका ७ स्थित प्रभुचेलाधुरीमा सामुदायिक ध्यान केन्द्र निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र समुदायको संयुक्त लगानीमा करिब एक करोड रुपियाँ खर्चिएर पर्यटकीय पूर्वाधार निर्माण गरी सामुदायिक ध्यानकेन्द्र बनाइएको हो ।

परापूर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारिरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको प्रभुचेला धुरी प्रवर्धन समितिका अध्यक्ष नविन जुग्जाली बताउनुभयो ।

प्रदेश सरकारको ६५ लाख रुपियाँ बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार निर्माण गरिएको छ । प्रभुचेला धुरीलाई सामुदायिक ध्यान केन्द्र बनाउँदै पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो ।

उक्त पूर्वाधारहरुको गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री एबम् प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । यसैगरी, बिमवासीहरुले स्वदेश तथा विदेशमा चन्दा सङ्कलन गरेर २८ लाख लगानीमा निर्माण भएको गोलघरको बिम–काठमाडौँ सम्पर्क समाजका विदेश विभाग प्रमुख कृष्णप्रसाद जुग्जालीले उद्घाटन गर्नुभयो । 

स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर बनाउन प्रवासमा रहेका बिमवासीहरुले सहयोग गरेका जुग्जालीले बताउनुभयो । उद्घाटनका अवसरमा ध्यान केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न उहाँले २५ हजार रुपियाँ सहयोग गर्नुभयो ।

परापूर्वकालमा ऋषीमुनीहरुले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । विभिन्न दाताहरुले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम निर्माण गरिएको प्रभुचेला प्रवर्धन समितिका अध्यक्ष जुग्जालीले बताउनुभयो ।

गोलघर र आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राती, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । परापुुर्व कालमा ऋषिमुुनीहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरु पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण गरिएको हो । 

वस्तीदेखि टाढा र जङ्गलको बिचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट बजेट विनियोजन गराएको प्रदेश सभा सदस्य जुग्जालीले बताउनुभयो । २० करोड बजेट विनियोजन गरेर खारादेखि बिम जोड्ने सडक स्तरोन्नति थालिएको जानकारी दिँदै उहाँले प्रभुचेला र मालिका धुरी जोड्ने सडकलाई पनि स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रभुचेला धुरीमा एक सय वर्ष अघिसम्म ऋषिमुनीहरुका लागि तपस्या स्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरु आउने गर्दथे । स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गर्नुभएको थियो ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न पाउनु अर्को विशेषता भएको प्रभुचेला धुरी प्रवर्धन समितिका सचिव सुरमान गर्बुजाले बताउनुभयो । 

समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाईमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना रहेको प्रभुचेलाको व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।