• १९ असार २०८१, बुधबार

काठमाडौं महानगर र नबिल बैंकबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्झौता

blog

काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ। 

काठमाडौंको सुन्धरास्थित महानगरको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्याल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले १८ वटै शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्ने विषयमा लिखित सम्झौता गर्नुभएको हो।

दरबारमार्गस्थित नबिल बैंकको केन्द्रीय कार्यालयसहित, जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी, चाबहिल, कुलेश्वर, कान्तिपथ, बसुन्धरा, सिनामंगल, कलंकी, भाटभटेनी, धुम्बाराही, न्यूरोड, कालीमाटी र शंखमूलसहित सबै शाखामा सो सेवाप्रवाह गरिने सम्झौतामा उल्लेख छ।

शाहले उपत्यकामा केही गर्न सकिन्छ कि भनेर महानगरसँग यसखाले साझेदारी गरिएको बताउनुभयो। “काठमाडौं मेयरज्यूको मात्रै होइन, हामी सबैको हो। झन् सुन्दर बनाउन सक्छौं भने किन नगर्ने भनेर हो”, उहाँले संक्षिप्त प्रतिक्रिया दिनुभयो।

यसैगगरी, महानगरका प्रशासकीय अधिकृत पौड्यालले पनि संक्षिप्त रुपमा बोल्नुहुँदै सानो र महत्वपूर्ण काम हासिल गर्ने, संस्थागत जिम्मेवारीबाट सरकार र नागरिकलाई सिकाइ अभ्याससँग जोड्ने, नागरिक चेतनास्तर अभिवृद्वि एवम् सहरी सेवाको खुड्किलो बढाउन यो सेवा प्रवाह गरिएको बताउनुभयो।

उक्त सम्झौताको समयावधि अबको पाँच वर्षको हुनेछ। सम्झौतापत्रमा आवश्यकता अनुसार अवधि थप गर्न सकिने व्यवस्था छ।