• २१ वैशाख २०८२, आइतबार

डढेलोका कारण बस्ती छिरे वन्यजन्तु

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख २१ गते । एकाबिहानै घरनजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा लक्षुमनप्रसाद कोइरालाको मन नमज्जाले कुँडिन्छ । वर्षभरि खाने अन्न र तरकारी बाली जङ्गली जनावरले एकै दिनमा सखाप पारेपछि दैलेखको नारायण नगरपालिका–१ का कोइराला अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । वर्षभरि खाने अन्न र तरकारी खेती बँदेल, दुम्सी, खरायो र बाँदरले सखाप पार्ने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पुर्‍याएको छ ।

सोही स्थानका चक्रबहादुर खत्री पनि आफ्नो बाली जोगाउनै मुस्किल भएको बताउनुहुन्छ । पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नु परेको उहाँको भनाइ छ । फलफूलको बिरुवा हुर्किंदै छन् तर जङ्गली जनावरबाट जोगाउनै मुस्किल भएको भन्दै खत्रीले सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन नसकेको बताउनुभयो । स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालीनाली जोगाइदिनु उहाँको आग्रह छ । 

पछिल्लो समय सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तुको आहारा र वासस्थानको खोजीका लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालीनाली जोगाउन हम्मेहम्मे परेको खत्रीले बताउनुभयो । उहाँका अनुसार चैत नलाग्दै सुरु भएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ । स्थानीयवासीले आगोबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् । वनमा डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, वासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् । जङ्गलमा डढेलोपछि भने अहिले जनावर बाक्लै मात्रामा गाउँतिर पस्ने गरेका छन् । 

डढेलोले जङ्गल उजाड भएपछि कतिपय वन्यजन्तु गाउँघरका झाडीतिर लुकेर बसेको अवस्थामा भेटिने गरेका हुन् । डढेलोले वन्यजन्तु गाउँ पस्दा बस्तीमा त्रास फैलिएको हो । शिरस्थान महिला सामुदायिक वन र फलेनी सामुदायिक वनक्षेत्रमा यो वर्ष पनि डढेलो लागेको छ । यस वन क्षेत्रमा डढेलो लाग्दा नारायण नगरपालिका–१ को धुलपुर, धावनी, पिनाल्ले, रातीमाटे, बस्नेत टोललगायत बस्ती प्रभावित हुँदै आएका छन् ।

यता पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीबाट ठुलो मानवीय क्षति हुने गरेको छ । घरमा आगलागी हुँदा मानवीय क्षति हुने गरेको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आगलागीका घटनाबाट मानवीय क्षति बढ्दो क्रममा रहेको पाइएको छ । चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशभर १२२ आगलागीका घटना भएका छन् । आगलागीबाट पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले आव २०७८/७९ मा १३१ आगलागीका घटना हुँदा १५ जनाको मृत्यु भएको र नौ जना घाइते भएको बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा ११४ वटा आगलागीका घटना भएका थिए भने आठ जनाको मृत्यु भएको थियो र २२ जना घाएते भएका थिए । आव २०८०/८१ मा सबैभन्दा बढी ३४२ वटा आगलागीका घटना भएका थिए । जसमा १८ जनाको मृत्यु भएको थियो भने २१

जना घाइते भएका थिए ।