तिनाउ समाचारदाता
तिनाउ (रुपन्देही), वैशाख २१ गते । माछाको हबका रूपमा विकास भएको छपिया क्षेत्रसहित रुपन्देहीका होटेल व्यवसाय र उद्यमीलाई माछाका परिकार बनाउन सिकाइएको छ । माछाको बजारीकरण, बजार विविधीकरण, मूल्य शृङ्खला अभिवृद्धि र व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले व्यवसायी र उद्यमीलाई तालिम प्रदान गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ भैरहवाले माछाको प्री हार्बेस्ट तथा पोस्ट हार्बेस्ट व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा १४ जना होटेल व्यवसायी र तीन जना उद्यमीलाई प्रशिक्षण दिइएको हो ।
रुपन्देही शुद्धोधन गाउँपालिका–४, केवलपुरकी राजकुमारी चौधरीले तीन दिनको तालिमले व्यवसाय प्रवर्धनका लागि ठुलो सहयोग गरेको बताउनुभयो । “घरमा माछा पाल्ने पोखरी छ, त्यहाँ पालिएका माछाका परिकार आफ्नै रेस्टुरेन्टबाट बिक्री गर्दै आएकी थिएँ,” चौधरीले भन्नुभयो, “तर, अहिलेसम्म माछाको फ्राइ र झोल माछाबाहेक अन्य परिकारबारे कुनै जानकारी थिएन ।” उहाँले माछाको पनि १५/२० वटा परिकार बनाएर व्यापार प्रवर्धन गर्न सकिन्छ भन्ने जानकारी नभएको बताउनुभयो ।
त्यस्तै तिलोत्तमामा रहेको सखिया थारू सामुदायिक होमस्टेका अध्यक्ष हरिनारायण थारूले पनि होमस्टेमा आउने पाहुनाहरूलाई माछाको दुई वटा मात्र परिकार खुवाउने गरेको बताउनुभयो । उहाँले आफ्नो होमस्टेको मेनुमा माछाका परिकार थप गर्ने बताउनुभयो ।
छपियाको माछा नेपालमै प्रसिद्ध रहेको छ । पङ्गास, टिलापिया, रहु, कमन कार्प, बिगहेडलगायतका विभिन्न जातका माछा उत्पादनका लागि प्रसिद्ध छपिया अब यसको स्वाद पनि चखाउन सक्ने भएको हो । पराम्परागत रूपमा माछा तारेर र झोल बनाएर बिक्री गर्ने होटेल व्यवसायीदेखि उद्यमीहरूले अब यसका विभिन्न १८ वटा परिकार तयार गर्न जान्ने भएका छन् । तालिमपछि सहभागीले झोलिलो माछा, तारेको माछासहित पोलेको माछा, माछाको सुकुटी, सेकुवा, मम, फिस चिप्स, फिस करी, अचार, कटलेट, ललिपप, सेन्डविच, फिस फिङ्गर, फिस बल, फिस सुप, फिस चिल्लीलगायतका विविध परिकारहरू बनाएर बिक्री बितरण गर्न सक्ने छन् ।
परियोजनाका मत्स्य विकास अधिकृत शोभाखर पाण्डेले माछाको व्यावसायीकरण र बजारीकरणमा टेवा पुर्याउन तालिम दिइएको जानकारी दिनुभयो । रुपन्देहीमा अहिले माछा सुपरजोन सञ्चालनमा रहेको छ । माछा सुपर जोन अन्तर्गत रुपन्देहीको सियारी गाउँपालिका, शुद्धोधन, गैडहवा, मायादेवी गाउँपालिकासहित बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४४ वटा वडाको एक हजार ११२ हेक्टर क्षेत्रफलमा माछा सुपरजोन कार्यक्रम लागु छ ।