इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २० गते । यौनिक तथा अल्पसङ्ख्यक समुदायका लागि राज्यले नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनको पक्ष कमजोर रहेको अभियन्ताहरुले बताएका छन् । अधिकार सुनिश्चितताका लागि नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा अझै पनि कतिपय समाजमा खुलेर हिँड्न नसकेको बताएका हुन् ।
यौनिक तथा अल्पसङ्ख्यक समुदायको अधिकारका विषयमा जिल्लाको रामपुरमा सरोकारवालासँग भएको अन्तरक्रियमा कार्यान्वयनको पक्ष बलियो बनाउनुपर्नेमा जोड दिइएको थियो । तीनै तहका सरकारले यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चितताका लागि उचित व्यवस्था गर्न नसकेको साहसी कदम नेपालका केन्द्रीय सदस्य इन्द्रादेवी सारुले बताउनुभयो । जसका कारण परिवारबाट पनि अपहेलित भएर टाढिनु पर्ने बाध्यता रहेको भन्दै यौनिक अल्पसङ्ख्यकका लागि फरक नीतिगत व्यवस्थासहित कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
यौनिक अल्पसङ्ख्यकको अधिकारका लागि सक्रिय अभियन्ता भूमिका श्रेष्ठले यौनिक अल्पसङ्ख्यक समुदायका मानिस अन्यभन्दा फरक नभई पृथक् भएको बताउनुभयो । समाजको फरक दृष्टिकोण र गलत बुझाइका कारण अपहेलनाको सिकार बन्नु परेको धारणा राख्नुभयो । सहासी कदम नेपालका प्रबन्ध निर्देशक रेश्मा न्यौपानेले पृथक स्वभाव र शारीरिक बनावटका कारण परिवारबाट अलग भएर बस्नु पर्ने बाध्यता रहेको र जुनसुकै स्थानमा स्वीकार नगर्नु आफूहरुको लागि विडम्बना भएको बताउनुभयो । उहाँले महिला पुरुष जस्तै यौनिक तथा अल्पसङ्ख्यक पनि सन्तानसरह नै मान्नुपर्ने बताउँदै हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक सुरज थापाले रामपुर नगरभित्र पनि यौनिक तथा अल्पसङ्ख्यक समुदाय भन्न नसक्ने र खुल्न नचाहने धेरै रहेको जानकारी दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले स्थानीय तहको सीमित स्रोत र साधनका बिच पनि यौनिक तथा अल्पसङ्ख्यक समुदायको हितका लागि नीतिगत व्यवस्था सहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गर्दै आएको बताउनुभयो । नगर भित्र यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु रहे पनि खुल्न नचाहेको उल्लेख गर्नुभयो । समाजको डरले यस समुदायका व्यक्ति खुल्न नचाहेको बताउँदै उनीहरुको उत्थान र सहज रुपमा खुलेर बाँच्ने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
साहसी कदम नेपालको आयोजना, रामपुर नगरपालिका र टेवा नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा अभियन्ताहरुसँगै, रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको सहभागिता थियो ।