• २० वैशाख २०८२, शनिबार

कैलालीमा कुप्रथा रोक्न छाउगोठ भत्काइयो

blog

कैलालीको धनगढीमा कुप्रथा र कुलत रोक्न ४५ दिने कार्यक्रम । तस्बिरः निराजन परियार

निराजन परियार
चौमाला (कैलाली), वैशाख २० गते ।
कैलालीमा कुप्रथा र कुलत रोक्न धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ४५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । वडा नम्बर १२ ले शान्ति सुरक्षा, लागु औषध, घरेलु मदिरा, घरेलु हिंसा, झै–झगडा, बालविवाह, बहुविवाह, तथा सरसफाइका साथै अन्य विकृतीको नियन्त्रणसम्बन्धी ४५ दिनसम्म अभियान सञ्चालन गरेको हो । गत चैत ८ गतेबाट सुरु भएको अभियान शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोष शर्मा थापाले अहिलेसम्म पनि छाउपडि पर्था कायम रहनु दु:खद रहेको बताउनुभयो । हामी आफै परिवर्तनमा लागेनौँ भने देश समाज न बन्ने भन्दै उहाँले कुरिती, कुसंस्कार रोक्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

४५ दिनसम्म वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविकासँगै विभिन्न टोलवासीको सहभागितामा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष शेरबहादुर महराले बताउनुभयो । ४५ दिनसम्म विभिन्न कार्यक्रम, घरदैलो अभियान, टोल सरसफाइ, जनचेतनात्मक सन्देश दिइएको उहाको भनाइ छ । टोलवासीहरुलाई बोलाएर अन्तरक्रिया उहाँहरुका समस्याबारे जानकारी लिएर हामीले यो अभियान सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो ।

अध्यक्ष महराले भन्नुभयो, “अनी टोलमा गएर जनचेतना दियौँ ६ गाउँका सार्वजनिक क्षेत्रलाई धुम्रपान मध्यपान निषेधित क्षेत्र बनाउने घोषणा गरेका छौँ, सरसफाइसम्बन्धी लागि दुई दिन तालिम दिएर सरसफाईसँगै डस्टविन वितरण पनि गरेका छौँ, यसका साथै छाउपडि पर्थासम्बन्धी जनचेतनाका साथै छाउगोठहरु भत्काएका छौँ ।” 

यसका साथै मनोरोग विशेषज्ञ चिकित्सक बोलाएर लागु औषधविरुद्धको सचेतना कार्यक्रम पनि आयोजना गरिएको उहाँले बताउनुभयो । अभियानमा बजार अनुगमन, बालविवाह, बहुविवाहसम्बन्धी जनचेतना दिइएको थियो ।