हातभरि माटोको सुगन्ध पोतिएको थियो, चिकनी माटोले पूजाकोठा लिप्दै थिएँ, पछाडिबाट आएर मेरो मुखमा श्रीमान्ले एउटा लालमोहन हालिदिनुभयो । बडो कठिनसाथ हतार हतार चपाएर निलेँ । मेरो सात्तो गएको थियो, कारण बिहानको पूजा गरेकै थिइनँ, कुलदेवीको पूजा गरेर खाने नियम छ यस घरको । सासूले देख्नुभएको भए ? उहाँ यस्तो उटपट्याङ गरिरहनुहुन्छ । मेरो पालो मैले पनि माटोले पोतिएको आफ्नो दुवै हातको निसान उहाँको निलो टिसर्टमाथि कुँदिदिएँ । उहाँ खिस्रिक पर्नुभयो । छातीमाथि पन्जाको छाप लिएर पूजाकोठाबाट बाहिर निस्किन गाह्रै पर्यो उहाँलाई । बाहिर आँगनमा बसेर सबै जना चिया खाँदै हुनुहुन्थ्यो । उहाँले टिसर्ट झिकेर काँधमाथि राख्नुभयो र गिलो माटोमा औँला चोपेर मेरो गालामा दल्दै निस्किनुभयो ।
लालमोहन औधी मन पर्छ मलाई तर बिहानै उहाँले यसरी खुवाएर जानुभयो कि बेस्वादसँग निल्नु परेको थियो । म नयाँ बुहारी हुँ, यस घरकी र बिहानको पूजा मेरो जिम्मा हुन्छ । जति प्रयत्न गरे पनि म उहाँहरू जस्तै बिहान ५ बजे उठ्नै सक्दिनँ । आफ्नो घरमा मर्निङ स्कुलबाहेक कहिल्यै बिहान उठ्नुपर्थेन । हामीलाई ७ बजे उठ्ने बानी थियो । यहाँ निद्रा नै नपुगे जस्तो हुन्छ तर म बिहान उठ्न थालेकी छु । अचेल खाना ढिलो खान थालेर होला मेरो कोखी दुख्न थालेको श्रीमान्ले थाहा पाउनुभएको थियो । त्यही भएर उहाँले मौका पाउनासाथ, कसैले नदेख्ने गरी मेरो मुखमा खानेकुरा हालिदिनुहुन्छ । उहाँलाई लाग्छ, मलाई ग्यास्टिकले सताएको हो तर उहाँको खुवाउने तरिका सारै अप्ठ्यारो खालको छ । म यसरी लुकीछिपी होइन, आरामले थालमा आफ्नै भाग पस्केर खान चाहन्छु । उहाँको माया गर्ने तरिका म बुझ्छु तर रोमान्टिक भने फिटिक्कै छैन । काइदा मिले पो ।
घरका सबै ज्येष्ठजनले खाएपछि कान्छी बुहारीले खाने नियम त पुरानै हो तर आफू भने नयाँ बुहारी परेर यी नियमको ‘साइड इफेक्ट’ बल्ल महसुस गर्दै छु । अनिद्रा–भोक–पूजा–भान्सा र चिसो भातको समीकरणले मेरो नयाँ यात्राको उमङ्गलाई निलेको छ । मेरो उमेर र सामथ्र्यले अझै केही समय माग्दै छ तर यति कुरा पनि म आमासँग निर्धक्कसाथ व्यक्त गर्न सकिरहेकी छैन । चार महिना भइसक्यो म यस घरमा आएको तर घरले मलाई अझै अपनाउन नसकेको जस्तो लागिरहन्छ । यसै त घरमा सबै रुष्ट जस्ता छन् । मैले थाहा नै पाउँदिन किन ? सानोतिनो कारणलाई यहाँ ‘इसु’ बनाइन्छ र मुख फुलाएर बसिन्छ । बेला बेला मलाई आफ्नो अपराध नै पनि थाहा हुँदैन, त्यसै सबै गमक्क परेको देखेर सकर्त हुन्छु । मेरा लागि यो परिवारको मनोविज्ञान बुझ्नु असहज छ । त्यही भएर पेट कराएको सुनेर बस्नुबाहेक, केही भन्न सकेकी छैन ।
अर्लाम लगाएर सुत्छु राति तर त्यसले पनि मेरो निद्रा भगाउन सक्दैन । खासमा मेरो अपराध यत्ति हो । अनि जब एक घण्टा ढिलो उठ्छु, मसँग अपराधीको जस्तो व्यवहार हुन थाल्छ । चुलोअगाडिको कमान्ड जेठानीले समाल्नु परेपछि म स्वयम् पनि अपराधबोध गर्छु । गराइन्छ पनि । यो कुटिल
‘गिर्हस्थ व्यवहार शास्त्र’ का रचयिता को हुन कुन्नी ? तर यति त पक्का छ, यसमा महिलाको एकाधिकार छ । के घरभित्रको व्यवहारलाई सहज बनाउन सकिन्न ? सोच्छु, कुनै दिन जेठानी दिदीले, “कान्छी भो तेरो निद्रा पुगेकै छैन, जा एकछिन गएर सुत, भान्साभात म हेर्छु,” भनेको भए तर उहाँको रिस हेर्दा लाग्छ उहाँ आफूमाथिको बहार्तनको ब्याज मसँग असुल्दै हुनुहुन्छ ।
म पनि के के सोचिरहन्छु । यद्यपि यो घरको एकता चाँडै खलबलिन्छ भन्ने भान हुन थालेको छ अचेल मलाई । नियमको बडो भयानक परिबन्द छ, यहाँ । अनुशासित त हामी पनि थियौँ तर यसरी हलचल नै गर्न नमल्निे गरी बाँधिएका थिएनौँ । यहाँ सनादेखि ठुलालाई आफ्नो हरेक पाइलाको हिसाब दिनुपर्ने कठोर नियम छ ।
केही दिनअघि हामी पहिलो पटक घुम्न निस्केका थियौँ । उहाँले शिवमन्दिर दर्शन गर्न जाउँ भन्नुभएको थियो, घरमा सोधेरै निस्केका थियौँ तर हामी आनन्दले घुमेर रातिको खाना बाहिरै खाएर आयौँ । बिहेपछि पहिलो पटक श्रीमान्सँग हात समातेर घुम्नुको कौमार्य आभास नै बेग्लै थियो । अनमोल थियो । समय बितेको पत्तो नै पाएनौँ । फर्केर आउँदा त कुनै अपराध गरेर आए जस्तो सबैका आँखा रुष्ट देखिन्थे । हामीले निकै ढिला गरेकोमा मलाई पछिसम्म अपराधबोध भइरह्यो ।
शनिबार बिहान हामी सबै आँगनमा जम्मा भएर लामो चिया गफ गर्ने गरेका थियौँ तर आज जेठानी दिदी आउनुभएन । उहाँले कोठामै चिया मगाएर खानुभयो । आमा र माइली दिदीको अनुहारमा त्यसको प्रभाव प्रस्ट देखिन्थ्यो । खासमा जेठाजुलाई, आफ्नो सरुवा बरु हेटौँडा–विराटनगर गराउनु तर यहाँ अब बस्न सक्दिनँ भनेर जेठानीले लामो समयदेखि घुर्की देखाइरहनुभएको थियो । तर, जेठाजुले आफू जेठा भएर त्यसरी घर अलपत्र छोडेर जान मिल्दैन भनेपछि उहाँ निराश हुनुभएको थियो । माइली दिदीको माइती भारतमा छ त्यही भएर उहाँ दुई÷तीन वर्षमा एक पटक मात्र जान पाउनुहुन्छ, त्यो पनि दुई÷चार दिनका लागि । त्यति मात्रै होइन उहाँलाई स्कुलमा पढाउने सोख छ तर आमाले, यो घरको बुहारीहरू बाहिर गएर काम नगर्ने मानौँ फरमान नै जारी गर्नुभएको छ । त्यही भएर उहाँको आफ्नै किसिमको चित्त दुखाइ छ आमासँग तर उहाँ बोल्न सक्नुभएको छैन । माइला दाइ र दिदीबिच नजानिँदो किसिमको फाटो छ । जो मैले यति कम समयमा देख्न सकेकी छु तर घरका अन्य कसैलाई कुनै फरक नै परेको छैन । वास्तवमा उहाँहरू सबै एउटै डोरीमा कठोरतासाथ बाँधिनुभएको छ । आफ्नो ‘स्व’ को बारेमा सोच्ने छुट छैन । र अब त मलाई आफ्नै पनि माया लाग्न थालेको छ । श्रीमान् जागिरे भएर के ? मलाई त राजनीतिमा औधी रुचि छ, म एउटा सक्षम नेता बन्ने सपना बोकेर सधैँ ब्युँझन्छु । के मैले पनि मेरो सपनाको तिलाञ्जली दिनुपर्ने हो ? सोचेरै पनि औडाहा हुन्छ मलाई ।
पूजा सकेर आउँदा अर्को कप चियाको पर्खाइमा हुनुहुन्थ्यो सबै जना, मैले पुनः चिया बसालेँ । चिया, मानौँ मिथिलाको संस्कृतिमा नै समाहित भइसक्यो । हरेक मुडमा चिया खानेहरू शोकमा पनि चिया बार्दैनन्, मानौँ चिया, चिया नभएर गङ्गा जल हो । अर्को कप चियाको दौड चल्यो तर कोही एकअर्कासँग बोलेको होइन । यस्तो बिरलै हुन्थ्यो । तर हेर्दै छु, सबैले आफ्नो छुट्टै ‘संसार’ खोज्न थाल्नुभएको छ । पहिले सँगै खानेबस्ने दिदीदाजुहरू अचेल आआफ्नो कोठा छिर्न थाल्नुभएको छ । मेरो श्रीमान्समेत यसै टोलीमा सामेल हुनुभएको छ । सम्भवतः यो घरमा पुरानो हुन थालेपछि मैले पनि उहाँहरू जस्तो आफ्नो सुरक्षित एउटा ‘कुना’ खोज्न थाल्ने छु । के हामी सबै बाध्यात्मक बन्धनको परिबन्दमा परेका
छौँ ? यो घर के कहिल्यै लचिलो हुन्न ?
हाम्रो घरलाई पहेँलो घर भन्ने गरिन्छ । घरको रङ कहिल्यै फेरिँदैन । संस्कृति अनुसार पूजाकोठा आज पनि माटोको छ, जहाँ माटोको पिण्डीमा भगवती विराजमान हुनुहुन्छ । यस घरको एकताकै कारण बुवाले मेरो बिहे गरिदिनुभएको थियो । तीन जना दाजुभाइ नै सरकारी उच्च ओहदामा हुनुहुन्छ । सहरभरि यो घरको साख उँचो छ । अझ घरमा सबै दाजुभाइ र बुहारीहरू मिलेर सँगोलमा बसेको यो एक मात्र घरबारे अनेक कथा प्रचारित छ रे समाजमा । यहाँको एकता अचेल बिथोलिन थालेको छ । आमाको शासन अलि कडा रहेको भान त मैले पहिलो दिनमै पाएकी थिएँ तर उहाँलाई सो कुरा बताउने आँट त उहाँका छोरामा समेत देख्दिनँ । मलाई यो घरको चिन्ता लाग्न थालेको छ । धेरै थिचोमिचोपछि विद्रोह हुन्छ भन्ने सुनेकी छु, यस घरमा विद्रोहको गन्ध फैलिन थालेको लामो समय भएको छ ।
ओहो, पुनः पेट दुख्न थालेछ । मलाई भोकले बेस्सरी सताएको छ तर शनिबार ढिलै खाने भएर कोही भान्सामा झर्नुभएको छैन । एक मन एक्लै गएर खाना खाउँ भन्ने भइरहेको छ तर त्यसो गर्न मिल्दैन । न त पेटको एकनासको दुखाइ मलाई सह्य भइरहेको छ । एकछिनसम्म सहेर बसेँ, भान्सा कुरेर पनि बसेँ तर मेरो पीडा झन् बढ्ला जस्तो भएपछि म आमाको कोठामा गएँ र सोधेँ, “आमा ! खाना कतिबेला खाने ?”
“किन तिमीलाई भोक लाग्यो हो ?”
बोल्न अप्ठ्यारो लागे पनि मैले यस पटक आँट गरेर भनँे, “हो आमा, भोकले बेस्सरी पेट दुख्न थाले छ ।” मेरो दुखाइको भाव सम्भवतः अनुहारमा प्रस्ट थियो कि ?
उहाँले भन्नुभयो, “अनि तिमी किन कुरेर बसेकी त कान्छी ? सबैलाई यो घरमा मनलाग्दी छ । तिमीले कुर्नु पर्दैन गएर खाऊ, भोक लागे सबै आएर खान्छन् ।”
“होइन, सबै जना हजुरलाई कुरेर बस्नुभए जस्तो छ । म उहाँहरूलाई खाना खान बोलाएर ल्याउँछु ।”
“पर्दैन, माइली र जेठीको चर्तिकला देख्दै छु अचेल, नखरा धेरै बढेको छ । नखाए नखाऊन्, बोलाइराख्नु पर्दैन । तिमीलाई भोक लागे गएर खाऊ ।”
“आमा ! हामी शनिबारसँगै खान्थ्यौँ आज पनि सँगै खाने, म उहाँहरूलाई बोलाएर ल्याउँछु । जेठी र माइली दिदीलाई कुनै कुराको चित्त दुखाइ भए हजुरले सोधे भइहाल्यो नि ?” मैले एक श्वासमा बोलेँ । आमाले आँखामाथिको चस्मा अलि तल गरेर मलाई कडा नजरले हेर्दै भन्नुभयो, “तिमीलाई केही भनेका हुन् र ? के को चित्त दुखाइ ? श्रीमान्ले पैसा कमाएको घमण्ड भएको छ तिनीहरूलाई ।”
मैले उहाँको दुवै हात समातेर आदरसाथ भनेँ, “खोइ आमा... तर मैले धेरै दिनदेखि अनुभव गरिरहेकी छु, घरमा सबै जना आफ्नो छुट्टै कुना खोज्न थाल्नुभएको छ । कारण त बुझ्न सकिन्छ नि आमा ! यो घरको स्तम्भलाई घर धानेको घमण्ड हुनु स्वाभाविक हो तर के बिमले घरलाई चलायमान पनि बनाउन सक्छ त ? घरलाई घर बनाएर राख्न पनि त घरले ठुलो त्याग माग्न सक्छ । हामी त्यसका निम्ति पनि तयार हुनु पर्छ नि है ? एक पटक खुलेर कुरा गर्दैमा के जान्छ र आमा ?”
कोठामा एकछिन मौनता छायो । आमाले पुनः भन्नुभयो, “जाऊ, सबैलाई बोलाएर ल्याऊ । अनि सुन, बिहान कति वटा लालमोहन खायौ त ? लाटी ! तिमीलाई के लाग्छ, म केही बुझ्दिनँ ? आमा हुँ म, सबैको मनको कुरा बुझेकी छु ।”
‘आमा...’ लाज लागेर म दौडिँदै तल झरेँ, मेरो पायलको झङ्कार मानौँ आज आफ्नो वशमा थिएन ।।