• २० वैशाख २०८२, शनिबार

सर्वस्व यै देश मेरो (कविता)

blog

स्वाभिमान अग्लो मेरो शैलश्रेणी बास 

सर्वस्व यै देश मेरो कर्मभूमि खास ।


ध्यान ध्यानी ज्ञानभूमि सभ्य शिवधाम 

तराई छ चौडा मेरै बुद्धभूमि जान ।


हिमचुलीको सेतो तन्ना, नैनसुतको फेटा 

रङ्ग–रूप नियालेर गाउँछ डाँफे गीत ।


इन्द्रेनीको माला लाउने गुराँसको प्रीत

कञ्चनजङ्घा सगरमाथा शीर हुन् कि जीत ? 


कतै कलकल छङछङ पानी नाचिरा’छ भीर

द्यौरालीमा वनपाखामा बोल्छन् चिरबिर ।


पहेँलपुर चुलिएको घमाइलो छ देश

दुःखकष्ट भुल्याउने यै हो स्वर्ग एक ।