• २१ वैशाख २०८२, आइतबार

चन्द्रकोटको प्रशासकीय भवन निर्माणमा ढिलाई

blog

चन्द्रकोट गाउँपालिकाको निर्माणाधिन अवस्थामा अलपत्र प्रमुख प्रशासकीय भवन । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, वैशाख २० गते ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले कार्यालय सञ्चालन बापत मासिक एक लाख १९ हजार रुपियाँ भाडा बुझाउँछ । अहिलेसम्म चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवनबाट कार्यालयको सेवा प्रवाह गर्दै आएको छ । तर छ करोड ७९ लाख रुपियाँभन्दा बढिको गाउँपालिकाको प्रमुख प्रशासकीय भवन काम नभएर अलपत्र परिरहेको छ ।

स्वछन्द सुशन लर्ड बुद्ध जेभी ललितपुरले २०७८ पुस ११ गते छ करोड ७० लाख २९ हजार ६७६ रुपियाँको लागतमा गाउँपालिका भवन निर्माणको सम्झौता गरेको छ । सम्झौता अनुसार २०८१ भदौ १० गते भित्र निर्माण व्यावसायीले भवन निर्माणको काम सक्नुपथ्र्यो । समयमै काम भएको भए आठ महिनाको भाडा तिर्नुपर्ने थिएन् । काम समयमै नसकेका निर्माण व्यावयासीले २०८१ फागुन १० गतेसम्म थपेको म्यादमा समेत काम नगरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।

अहिलेसम्म निर्माण व्यावसायीले ६१.१९ प्रतिशत काम सकेका छन् । सुरुमा तीव्र गतिमा काम गरेपनि पछिल्लो समय कामै नभएको केसीले बताउनुभयो । उहाँले आफुहरुले निर्माण व्यावसायीलाई ताकेताका लागि दुई पटक पत्र पठाए पनि प्रगती नदेखिएको बताउनुभयो । शान्तिपुर बजार नजिकै चन्द्रकोट गाउँपालिकाको भवन निर्माण हुँदैछ ।

काम गरिरहेको स्वछन्द सुशन लर्ड बुद्ध जेभी ललितपुरका सञ्चालक सुशन महर्जनले काम अनुसारको पैसा नभएका कारण काम रोकिएको बताउनुभयो । उहाँले रफ्तारमा गएको काम बजेटको कारण रोकिए पनि केहि समयमै गर्ने योजना बनाएको बताउनुभयो । “पैसा रोकिएका कारण चल्न समस्या भएर काम गर्न नसकिएको हो । फिनिसिङ्गको काम मात्रै भएकाले तीन महिनामा सक्छौ,” उहाँले भन्नुभयो, “निर्माण व्यावसायीका पनि आ–आफ्नै बाध्यता छन् ।”