• २१ वैशाख २०८२, आइतबार

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

blog

तस्बिर : राजन रावत सिमकोट–हिल्सा सडकको धारापोरीको सडक ग्राभेल हुँदै ।

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २० गते  । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सडकको काम लगभग सम्पन्न भएको छ । १२ वर्षको अवधिमा नेपाली सेनाको विकास निर्माण कार्यदल र हिल्सा–सिमकोट सडक योजनाले यो सडक निर्माण गरेका हुन् । 

२०६९ सालमा हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ स्थापना भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले कर्णाली कोरिडोरको कबाडीदेखि हिल्सासम्मको काम ९९ प्रतिशत सकिएको बताउनुभयो । 

कोरिडोरको हुम्ला खण्डमा १८५ किलोमिटर सडक पर्दछ । कुल सडकमध्ये आठ सय मिटर सडक मात्र ट्र्याक खोल्न बाँकी रहेको छ । सडकको ट्र्याक खोल्न बाँकी सिमकोट गाउँपालिका– ५ को धारापोरी क्षेत्र रहेको छ । सडक निर्माण भइरहेको समयमा स्थानीय जग्गाधनीको विवादका कारण गत पुस महिनाबाट निर्माण रोकिएको छ । सडकको हुम्ला खण्डको दुरीमध्ये कबाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ बाट निर्माण सुरु गरेर २०७८ सालमा सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो । 

यता सर्केगाडदेखि खार्पु खण्ड ५० किलोमिटरमध्ये दुल्लीकुनादेखि लालीबगरसम्मको ११ किलोमिटर सडक २०७८ मा निर्माण सुरु गरेर २०८१ असारमा सेनाले सम्पन्न गरेको थियो । हाल छारे–खार्पु खण्डको बोक्चे गौँडादेखि याङ्चु बगरको चट्टानी भिरको सडकको आठ सय मिटर सडकको स्तरोन्नति भइरहेको छ । गत चैत २५ गतेबाट नेपाली सेनाले स्तरोन्नति जारी राखेको छ । 

सेनाले सो काम आगामी असार महिनासम्म सम्पन्न गर्ने गरी सडक निर्माणको जिम्मा पाएको छ । ताँजाकोट गाउँपालिकको कबाडीदेखि खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म कच्ची सडक निर्माण भएको छ । यो खण्ड अन्तर्गत कबाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडकमा सडक स्तरोन्नति तथा कालोपत्रेका लागि टेन्डरसमेत आह्वान भएको छ । 

अब सलीसल्लादेखि खार्पुसम्मको सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्य आगामी आवमा सुरु हुने जानकारी आयोजना प्रमुख नेपालीले दिनुभयो । कबाडी–सलीसल्ला खण्डमा दुई वटा बेलिब्रिज निर्माण गरिएका छन् भने पाँँँच वटा कलभर्ट निर्माण गरिएका छन् । सलीसल्लादेखि खार्पुसम्म तीन वटा कलभर्ट निर्माण गरिएका छन् । खार्पुमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । 

यता सिमकोट हिल्सा सडकखण्डको ९५ किलोमिटर सडकमा ट्र्याक खुलाउने काम पूरा भइरहेको छ । तुम्कोटदेखि हिल्सा, याल्वङ चौरदेखि इलिङ लेक, याल्वाङ गौँडादेखि च्याछरा र च्याछरादेखि सरिमासम्मको सडकको स्तरोन्नति तथा ग्राभेल गर्ने काम पनि जारी छ । यो खण्डमा हिल्सा र तुम्कोटमा बेलिब्रिज निर्माण गरिएको छ भने सल्ली खोला र ताग्रु खोलामा पक्की पुल निर्माण भएको छ । 

यस्तै याङ्गार र हेक्पा खोलामा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । यो खण्डमा तीन वटा कलभर्टको निर्माण सम्पन्न भएको छ भने १२ किलो मिटर सडकको ग्राभेलको काम सकिएको छ । कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको हिल्सासम्मको कुल २६८.६५ किलोमिटर सडकको कुल लागत छ अर्ब ६६ करोड १९ लाख रहेकोमा हालसम्म दुई अर्ब ३१ करोड खर्च भई ३४.६६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।