काठमाडौँ, वैशाख १९ गते। सरकारले एकीकृत समाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ पार्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गर्ने घोषणा गर्नुभएको हो।
उहाँका अनुसार आगामी नीति तथा कार्यक्रममा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबिच समन्वय गरिने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने योजना रहेको बताउनुभयो।
यसैगरी, इन्टर्नलाई पनि स्टार्टअपमा सङ्लग्न गर्न कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ।
योगदानमा आधारित कोष
सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेगरी कोषको भूमिका र दायरालाई विस्तार गरिनेछ।
कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइ नियमित योगदान गरेको प्रमाण सङ्लग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ।
बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने अत्यावश्यक औषधी बीमा प्रणालीमा जोडिनेछ।
छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाको सेवा प्रभावकारी बनाइनेछ।