• २० वैशाख २०८२, शनिबार

लायन्स कप भलिबल : इरानको टोली सेमिफाइनलमा

blog

शुक्रबारको खेलमा प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल 

माछापुच्छ्रे(कास्की) वैशाख १९ गते । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा इरानको टोली सेमिफाइनलमा पुगेको छ । 

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै इरानी टोली सेमिफाइनलमा पुगेको हो ।  

पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार बेहोर्नुपर्‍यो । इरानी टोलीले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पार्‍यो  । 

इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबिच हुने छ । उक्त खेलको विजेताले सेमिफाइनलमा पुग्ने छ । 

शुक्रबारको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबिच हुँदै छ । यसअघि, हिजो भएको खेलमा भारतीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । 

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा प्रतियोगिता भएको हो ।