• २० वैशाख २०८२, शनिबार

नदीमा डुबेर बालकको मृत्यु

blog

राप्ती नदीमा नुहाउने क्रममा बालक डुबेको स्थान । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर एक १३ वर्षीय बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेले दिएको जानकारीअनुसार आफ्नो एक जना साथीसँग शुक्रबार दिउँसो करिब १२ बजे राप्ती नदीमा नुहाउन र पौडी खेल्न गएका राप्ती सोनारी गाउँपालिका–३ बैंसा निवासी यज्ञबहादुर विकको कान्छो छोरा १३ वर्षको सफर विकको डुबेर मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी प्रमुख बलबहादुर घर्ति मगरले करिब १२ बजे सफर विक राप्ती नदीमा डुबेको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको जनाउँदै प्रहरी र स्थानीयले विकलाई खोजतलास गर्दा दिउँसो १ बजे शव फेला परेको बताउनुभयो । 

बालकको शवलाई पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको जनाउँदै पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ । गर्मीको समयमा जिल्लामा रहेका विभिन्न नदी, खोला, ताल तलैया र अन्य पानी जमेको स्थानमा बालबालिका पौडी खेल्न जाने बढी सम्भावना रहेकाले एक्लै त्यस्ता स्थानमा जान नदिन जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक अपिल गरेको छ ।