• २० वैशाख २०८२, शनिबार

अब स्कुल स्पोर्ट्स कार्यक्रम सञ्चालन गरिने

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १९ गते । विद्यालय स्तरदेखि खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय खेल सङ्घसँगको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको शुक्रबार संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुदमा स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गरिने घोषणा गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा सङ्घ, प्रदेश तथा स्थानीय तह र खेल सङ्घको सहकार्यमा यस कार्यक्रम सञ्चालन गरिने छ । जसअनुसार विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिताका गतिविधि सञ्चालन हुने छ । 


नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई खेलकुदसँग जोड्ने कार्यक्रमलाई समावेश गरेको छ । यस्तै खेलकुदको भौतिक संरचना निर्माणका लागि मुख्य प्राथमिकतामा राखिएको र तीनवटै तहमा रङ्गशाला निर्माणका लागि सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने उल्लेख छ ।


जसअनुसार नीजि क्षेत्रलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खेलकुदमा जोडिने छ । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने उल्लेख छ । हाल त्रिवि मैदानमा प्यारापिटसहितको निर्माण कार्य धमाधम भइरहेको छ । 

यस्तै अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र खेलाडीको सन्ततीलाई अध्ययनका लागि छात्रवृत्तिको समेत व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।