काठमाडौँ, वैशाख १९ गते । नेपाल ई-स्पोर्ट्स सङ्घ(नेसा) को आयोजनामा पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप सुरु भएको छ । यो विश्व ई-स्पोर्ट्स च्याम्पियनसिपको छनोट प्रतियोगिता पनि हो ।
सङ्घका अध्यक्ष सुरज डङ्गोलले यस प्रतियोगिताबाट विश्व ई-स्पोर्ट्स च्याम्पियनसिपका लागि खेलाडी चयन हुने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स महासङ्घ (आइइएसएफ)को आयोजनामा विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप प्रत्येक वर्ष आयोजना हुने गर्दछ ।
नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप आगामी मे महिनाको पहिलो हप्ता सम्पन्न हुने छ । जहाँ घरेलु शीर्ष ई-स्पोर्ट्स खेलाडीहरूले क्षेत्रीय छनोटमा नेपालको प्रतिनिधित्व गर्न मिहिनेत गर्ने छन् ।
क्षेत्रीय चरणबाट सफल हुने खेलाडी विश्व ई-स्पोर्ट्स च्याम्पियनसिपको फाइनल खेल्न योग्य हुने प्रावधान रहेको छ । पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपका लागि प्रारम्भिक चरण सम्पन्न भइसकेको छ ।
नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप मा ६ विधामा खेलाडीहरूले कडा प्रतिस्पर्धा गर्ने छन् । जसमा इफुटबल, डोटा टु, काउन्टर स्ट्राइकर टु (सिएसटु), मोबाइल लिजेन्ड्स : ब्याङ ब्याङ (एमएलबबी) ओपन, मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ (एमएलबबी) महिला डिभिजन र पब्जी मोबाइल रहेका छन् ।
यस प्रतियोगिताले नेपाली ई-स्पोर्ट्स खेलाडीहरुको क्षमता, समर्पण र खेल भावनालाई विश्व मञ्चसम्म पुर्याउनुका साथै नेपालमा तीब्र गतिमा फस्टाइरहेको ई-स्पोर्ट्सको यात्रामा यो प्रतियोगिता कोशेढुङगा सावित हुने पनि सङ्घका अध्यक्ष डङ्गोलले बताउनुभयो ।