• २० वैशाख २०८२, शनिबार

आर्थिक गतिशिलता बढाउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्धः राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, वैशाख १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शुक्रबार सरकारको तर्फबाट संसद भवनमा सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८२—०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखि साझा सङ्कल्पका साथ सुशासन, प्रवर्धन गर्न र तीव्र आर्थिक विकास हासिल गर्न कटिबद्ध रहेको बताउनुभयो ।

समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी, संविधान र व्यवस्थाप्रति अफवाह फैल्याइ अराजकता सिर्जना गर्ने पक्षविरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गदै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको बताउनुभयो । 

राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवाद उन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपाल सरकारले जोड दिएको बताउनुभयो ।