• २० वैशाख २०८२, शनिबार

पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार निर्माण हुँदै

blog

धनुषाको सखुवा बजार नजिक निर्माण भइरहेको शितभण्डार । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख १९ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका–७, सखुवा बजार नजिक पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डारको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदानमा सो शितभण्डार निर्माण भइरहेको हो । 

स्टोर ग्रीन नेपाल एसकेजीले सात करोड २८ लाख १२ हजार ६५८ रुपियाँमा शीतभण्डार निर्माणको ठेक्का पाएको छ । २०८१ साल असार २३ गते सम्झौता गरेर निर्माण कार्य थालिएको छ । सो शीतभण्डार आगामी २०८२ साल मङ्सिर २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ निर्माण कम्पनीले जनाएको छ ।  

शीतभण्डार निर्माणका लागि छिरेश्वरनाथ नगरपालिकाले १० कठ्ठा जमिन उपलब्ध गराएको छ । उक्त शीत भण्डारण केन्द्रबाट स्थानीय किसान तथा व्यापारी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नगर प्रमुख सुखदेव यादवले दिगम्बरपुर, औरहा र इच्छापुर क्षेत्रका आधाभन्दा बढी किसान तरकारी तथा फलफूल उत्पादन गर्दै आएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा समयमा उचित मूल्य नपाउने वा तरकारी बिक्री नभएर नोक्सानी बेहोर्नु परिरहेको छ । शीतभण्डार बनेपछि किसानले उत्पादन गरेको तरकारी तथा मौसमी फलफूल सुरक्षित राख्न पाउनेछन् । यसले कृषकको आम्दानी बढ्नेछ र कृषि व्यवसायलाई थप फाइदा पुग्नेछ ।” यसले क्षेत्रीय कृषि उत्पादनमा स्थायित्व ल्याउने र किसानको जीवनस्तर उकास्न टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

औरहाका कृषक सत्यनारायण साहले शीतभण्डार बन्न थालेपछि यहाँका किसानमा उत्साह बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उत्पादन गरेको आलु, प्याजलगायतका तरकारी थोरै मूल्यमा बेच्नुपर्दा नोक्सानी हुन्छ । कोल्ड स्टोरको सुविधा भएपछि बेलामा बेच्न नसकेका तरकारी सुरक्षित राखेर पछि उचित मूल्यमा बिक्री गर्न सकिनेछ ।” उक्त कोल्ड स्टोर सञ्चालनमा आएपछि छिरेश्वरनाथ नगरपालिका र आसपासका क्षेत्रका किसानलाई तरकारी तथा फलफूल दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुने उहाँको भनाइ छ ।