काठमाडौँ, वैशाख १९ गते । काठमाडौँका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बन्नुभएको हो ।
नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४६–५० केजीमा करण ढोली, ५०–५४ केजीमा सुमन घले, ५४–५८ केजीमा अर्पण लामा, ५८–६३ केजीमा सुझपकुमार यादव र ६३–६८ केजीमा आशिष भुजेलले स्वर्ण जित्नुभयो ।
गोल्फुटारमा भएको प्रतियोगिताको महिला ४०–४३ केजीमा सम्पदा सिवाकोटी, ४३–४६ केजीमा सुप्रिमा बजगाईं, ४६–४९ केजीमा रोजिना लामा, ४९–५३ केजीमा प्रतिमा भुजेल र ५३–५८ केजीमा मनीषा तामाङ पहिलो हुनुभयो ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा पुरुष/महिलामा समान पाँच पाँच गरी १० स्पर्धामा दुई सय १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।