• २० वैशाख २०८२, शनिबार

धनेवा खोलाको तटबन्ध मर्मत गरिँदै

blog

धनेवा खोलाको तटबन्ध मर्मतको काम गरिँदै । तस्बिरः कल्पना खरेल

कल्पना खरेल 

नवलपरासी पश्चिम, वैशाख १९ गते । नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले डुबान नियन्त्रण गर्न धनेवा खोलाको तटबन्ध मर्मत कार्य अगाडि बढाएको छ । बर्सेनि झेल्दै आएको सरावल गाउँपालिका–६ मा रहेको धनेवा खोलाबाट बस्ती डुबान र कटानको समस्यालाई नियन्त्रण गर्न तटबन्ध मर्मतको काम अघि बढाइएको हो ।

डुबान नियन्त्रण गर्न बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार गण्डकको सहकार्यमा तटबन्ध मर्मतको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनुभयो ।

धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उक्त धनेवा खोला व्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाइड बण्ड वर्क र दोस्रो निर्माण गरी दुई भागमा निर्माण गर्नेगरी (कुल भ्याट) सहित ४९ करोड ६६ लाख ७६ हजार ७ सय १२ रुपियाँ लागत लाग्ने उल्लेख छ ।

डिपिआर बनाएर सङ्घ र प्रदेशसँग पटक–पटक बजेट माग गरिए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेपछि आफ्नै स्रोतले गाउँपालिकाले बाँधको उचाइ बढाउने काम थालेको अध्यक्ष चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “विगत तीन दशकदेखि डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस वर्ष पनि नेताहरूको आवश्सन मात्र रह्यो ।” 

जनताको सबैभन्दा नजिकको सरकार भएकाले उपलब्ध साधन स्रोतअनुसार समस्यालाई थोरै भए पनि समाधान गर्दै लैजाने गाउँपालिकाले बताएको छ । डुबान रोक्न पालिकास्तरबाट लगानी गरेर धनेवा बाँधको उचाइ थप्ने काम यो दोस्रो पटक गरिएको हो । 

धनेवा खोलाको अधिकांश भाग सरावल गाउँपालिकाको ४ वटा वडालाई छोएकोे छ । खोलाको सीमा प्रतापपुर गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका र केही भाग बर्दघाट नगरपालिकालाई छोएको छ । खोलाको उदगमस्थल बर्दघाट नगरपालिका भए पनि यो झहरी खोलामा मिसिँदै भारततर्फ प्रवेश गरेको छ । खोलाको उचित तटबन्ध मर्मत कार्य नहुँदा बर्सेनि हजारौ बिघा खेत डुबानमा पर्दैआएको थियो । ्