• २० वैशाख २०८२, शनिबार

प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवन निर्माण

blog

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा । तस्बिरः पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, वैशाख  १९ गते ।  १२ करोड रुपियाँको लागतमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ । 

देशभरी विभिन्न योजना निर्माण कार्यमा ढिलाइ भइरहेको भए पनि गाउँपालिकाले प्रशासनिक भवन निर्माण कार्यलाई तिव्रता दिएपछि अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

करिब ९ कट्ठा जग्गामा सो प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । १२ करोड रुपियाँ लागतमा बन्ने प्रशासनिक भवन अपाङ्गमैत्री निर्माण गरिँदै छ । गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिकाको मुख्य पूर्वाधार हो, यसर्थ जनप्रतिनिधिको दोस्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आएपछि मुख्य प्राथमिकतामा राखेर प्रशासनिक भवन निर्माण गरिएको अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो । 

यसै आर्थिक वर्षभित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य छ । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । अघिल्लो कार्यकालदेखि नै प्रशासनिक भवन बनाउन नसक्दा हालसम्म दुई वटा भवन भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएकाले जति सक्दो चाँडो प्रशासनिक भवन निर्माण हुन लागेको छ ।  

यादवका अनुसार साविक प्रतापपुर गाविसलाई गाउँपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नुपर्ने नीतिगत बाध्यताका कारण विगत वर्षमा भवन निर्माण हुन सकेको थिएन । यद्यपि सबै नीतिगत बाध्यतालाई व्यवस्थापन गरी अब भवन निर्माण कार्य सम्पन्न गर्न लागिएको गाउँपालिका पदाधिकारीको भनाइ छ ।