• २० वैशाख २०८२, शनिबार

गुल्मीमा एसइईको उत्तरपुस्तिका परीक्षण

blog

गुल्मीमा एसइईका उत्तरपुस्तिका परीक्षण गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्कर्मा
गुल्मी, वैशाख १९ गते ।
गुल्मीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । आन्दोलनरत शिक्षक र सरकारबिच सहमति भएपछि उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण गर्नका लागि अभिमुखीकरण गरिएसँगै उत्तरपुस्तिका परीक्षणको कार्य थालिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेका अनुसार तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयमा सचिवालय खडा गरी उत्तरपुस्तिका परीक्षणको कार्य थालिएको छ । अनिवार्य, ऐच्छिक र प्राविधिक विषयका गरी ३० हजारभन्दा बढी उत्तरपुस्तिकाहरू परीक्षणका लागि आएका गुल्मी आएका छन् ।

नियमित र एक्जाम्टेडका उत्तरपुस्तिका रहेको उहाँले बताउनुभयो । उत्तरपुस्तिका परीक्षणका लागि अहिले ४० जना शिक्षकहरू सहभागी हुनुभएको छ । शिक्षकहरु थपिने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्राविधिक सहायक रामप्रसाद पन्थीले बताउनुभयो ।

परीक्षण गरेबापत शिक्षकहरूले प्रति उत्तरपुस्तिका २५ रुपियाँ पाउने र समपरीक्षण गरेबापत प्रति उत्तरपुस्तिका छ रुपियाँ पाउने उहाँले बताउनुभयो । उत्तरपुस्तिकाको परीक्षण सकेपछि समपरीक्षण गरिने बताइएको छ । जेठ महिनाको पहिलो हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण र समपरीक्षण कार्य सम्पन्न गरिने कार्यालयले जनाएको छ ।