रेसुङ्गा (गुल्मी), वैशाख १९ गते । एउटै निर्माण व्यवसायीले धेरै कामको ठेक्का लिएर समयमै काम नसक्ने गरेको नौलो कुरा होइन । यो विषयमा नियामक निकाय जानकार हुँदाहुँदै पनि पहुँचका आधारमा ठेक्का हत्याउने गरेका छन् । पहिल्लो समयमा गुल्मीमा यस्तै भएको छ । एउटै निर्माण व्यवसायीले चार वटा पुलको जिम्मा पाएको हो । डिएन्डडी बिल्डर्स पाल्पाले सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माण सम्झौता गरेको एक वर्ष पुग्न लाग्दा कामको समग्रमा ३५/४० प्रतिशत मात्रै प्रगति भएको छ ।
सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत उक्त कम्पनीले दरिनढुङ्गा–सिरान सडकको दोबाटेखोला पुल दुई करोड ६७ लाख ५९ हजार ७८९ रुपियाँको लागतमा २०८१ जेठ २१ गते निर्माण सम्झौता गरेको थियो । कार्यालयले १२ मिटर लामो पुल निर्माण सम्झौता अनुसार २०८२ जेठ २० गतेभित्र सक्नुपर्ने भए पनि ३५ प्रतिशत मात्रै कामको प्रगति भएको जनाएको छ ।
त्यस्तै सोही निर्माण कम्पनीले मरेङ्गखोला पुल निर्माणका लागि दुई करोड ६४ लाख ७९ हजार २४५ रुपियाँको लागतमा २०८१ जेठ २१ गते निर्माण सम्झौता गरेको थियो । सडक पूर्वाधार कार्यालयका सूचना अधिकारी भक्तराज गिरीले १२ मिटर लामो पुलको काम २०८२ जेठ २० गते सक्नुपर्ने अन्तिम समय भए पनि जम्मा २५ प्रतिशत काम मात्र भएको जानकारी दिनुभयो ।
डिएन्डडी बिल्डर्स पाल्पाले नै २०८१ जेठ २१ गते तीन करोड ४० लाख ६२ हजार ८२५ रुपियाँमा निर्माण सम्झौता गरेको धुर्कोटको पालतखोला पुलको पनि अहिलेम्म ४० प्रतिशत मात्र काम भएको छ । ४० मिटर पुलको काम सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०८२ मङ्सिर २० गते रहेको छ ।
गुल्मीदरबार गाउँपालिका–१ र २ जोड्ने पक्की पुल पनि सोही कम्पनीले तीन करोड ८१ लाख ८४ हजार ६७७ रुपियाँमा २०८१ जेठ ८ गते निर्माण सम्झौता गरेको हो । २५ मिटर लामो पुलको २०८२ मङ्सिर २८ मा सक्नुपर्ने छ । सूचना अधिकारी गिरीले अहिलेसम्म पुलको ४० प्रतिशत प्रगति भएको बताउनुभयो ।
अब बर्सात सुरु भए खोलामा पुलको काम गर्न सकिँदैन । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका वडाध्यक्ष राजेन्द्र कँडेलले निर्माण थालिएको जुभुङ्ग र बलिथुम जोड्ने पुल निर्माणको काम सन्तोषजनक नभएको बताउनुभयो । उहाँले करिब चार करोड रुपियाँको पक्की पुल निर्माण व्यवसायीले बजेटका कारण देखाउँदै एउटा पिल्लर मात्रै देखिने काम भएको बताउनुभयो ।
सडक पूर्वाधार कार्यालयमार्फत कार्यान्वयन गरिएको इस्माको कुखुरेखोला पुल लामो समयदेखि अलपत्र रहेको छ । २५ मिटर लामो पुल तीन करोड ८१ लाख ८४ हजार ६७७ रुपियाँमा अत्रय–भुसाल–बस्नेत जेभीले २०७७ साल माघ २१ गते निर्माण सम्झौता गरेको भए पनि ५५ प्रतिशत काम गरेर अलपत्र छोडेका छन् । सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचितानन्द चौधरीले निर्माण व्यवसायीले जमानत तानेर ताकिता गर्दा पनि काम नगरेको जानकारी दिनुभयो ।
उहाँले निर्माण व्यवसायीले क्षमताभन्दा बढी काम लिएका कारण योजना कार्यान्वयनमा कार्यालयलाई पनि चुनौती भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुलको काम सजिलो छैन, निर्माण व्यवसायीको क्षमता ठुलो कुरा हो । एकै समयमा सम्झौता गरेका निर्माण व्यवसायीले चार महिनामा पुल सक्दा कोही धेरै ठेक्का मात्रै ओगटेर काम गरिरहेका छैनन् ।”