• १९ वैशाख २०८२, शुक्रबार

सहिद परिवारको घरमा प्रचण्डको बास

blog

बेलौरी समाचारदाता

बेलौरी (कञ्चनपुर), वैशाख १९ गते । कञ्चनपुर पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारको घरमा पनि बास बस्नुभएको हो । शीर्ष तहका नेताहरू कञ्चनपुर आउँदा होटेल ओपेरामा नै बास बस्ने गरेको आरोप लागि रहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने मङ्गलबार राति कञ्चनपुरस्थित एक सर्वहारा स्थानीयको घरमा बास बस्नुभएको स्थानीय माओवादी केन्द्रका नेताले बताउनुभयो ।  

कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतीबस्तीस्थित स्वर्गीय पुष्कर शर्माको घरमा प्रचण्ड बास बस्नुभएको थियो । शर्मासँगै उहाँका कान्छा छोरा हेमराज शर्माले ज्यान गुमाउनु परेको थियो । जनयुद्धमा श्रीमान् र छोरा गुमाउनुभएका खिमा शर्माले अध्यक्ष प्रचण्ड आफ्नो घरमा बास बसेकोमा खुसी व्यक्त गर्नुभयो । सहिदले देखेको सपना अनुरूप देश र जनताको हितमा काम गर्न उहाँले आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “देश र जनताले रुचाएको नेता तपाईं नै हो, सहिद परिवारको उचित व्यवस्थापन पनि गर्नुहुने छ भन्ने आशा गरेकी छु ।” अध्यक्ष प्रचण्डको खिमाले भव्य स्वागतसहित मिष्टान्न खुवाउनुभएको थियो । अध्यक्ष प्रचण्डले यसरी पहिलो पटक आफ्नो घरमा बास बसेपछि हर्षित हुँदै उहाँले आगामी कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।