• १६ असार २०८१, आइतबार

चीन र भारतमा पाइने चरा नेपालमा

blog

तस्बिर सौजन्य :- मिलन तामाङ

वसन्त पराजुली/नारायणगढ समाचारदाता
नारायणगढ, जेठ २५ गते ।
चीन र भारतमा पाइने ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा नेपालको चितवनमा पनि भेटिएको छ ।

चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु विडारीले ‘चाइनिज पोन्ड हेरोन’ चरा नेपालमा पहिलो पटक देखापरेको जानकारी दिनुभयो ।

चितवनको खैरहनी नगरपालिका वडा नम्वर ११ स्थित गैडहवामा पहिलो पटक यो चरा भेटिएको हो । बकुल्ला जातको यो चरा फेला परेसँगै नेपालमा भेटिने चराको प्रजातिको सङ्ख्या बढेको छ ।

नेपालमा हालसम्म ८९० प्रजातिका चरा रेकर्ड भएका छन् जसमध्ये चितवनमा मात्रै ६५० प्रजातिका रहेका बताइन्छ ।


सौराहाका नेचर गाइड तथा फोटोग्राफर राजु तामाङले जुलाई १ तारिखमा पहिलो पटक यो चरालाई देखेपछि उहाँले रियर वर्ड कमिटिसँग परामर्शमा पुग्नुभएको थियो । कमिटीले प्रमाणित गरेसँगै नयाँ प्रजातिको चरा नेपालमा पनि सूचीकृत भएको विडारीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

‘चाइनिज पोन्ड हेरोन’  एक किसिमको  फिरन्ते चरा हो । चीनको पूर्वी भेग, भारतको पूर्वी र दक्षिणी भेग तथा भियतनाममा यो चरा भेटिन्छ । नेपालमा भने यो फिरन्तेकै रुपमा आइपुगेको हुनसक्ने बताइन्छ । विशेष त माछा, भ्यागुतालाई आफ्नो आहारा बनाउने यो चरा सिमसार क्षेत्रमा बस्न रुचाउँछ ।

“यो चरा अहिले एक्लै देखिएकाे छ । यसले आफ्नो बथान पनि छाडेर एक्लिएको हुनसक्छ”, वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्षसमेत रहनुभएका विडारीले भन्नुभयो ।