• ११ जेठ २०८२, आइतबार

आर्ट ग्यालरीसँगै चित्रकला कार्यशाला

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख १९ गते । रुपन्देहीको सैनामैनामा निजीस्तरमा पहिलो पटक आर्ट ग्यालरी सञ्चालनमा आएको छ । सुमित्रा थ्री एल आर्ट ग्यालरी नाम दिइएको उक्त ग्यालरीको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले शुभारम्भ गर्नुभयो । 

ग्यालरी शुभारम्भकै सन्दर्भमा चित्रकला कार्यशालासमेत आयोजना गरिएको थियो । उक्त कार्यशालाको शुभारम्भ प्राज्ञ बुँद रानाले गर्नुभयो । चित्रकला कार्यशालामा प्राज्ञ यमबहादुर थापा, बेनप्रसाद थापा, प्रितम थापा, एचबी रम्तेल, हरि बयम्बु, प्राज्ञ गोविन्द चौधरी, अजय नेपाली, नितिन न्यौपाने, घनश्याम थापा, राजु खड्का, विष्णुप्रसाद न्यौपाने, खेम घिमिरे, राजकुमार लिगल, डोलबहादुर आले, शान्त राहादी, मन गोल्डी, दिलीप रसाइली, गङ्गाधर आचार्य, नरबहादुर विक, रामऔतार थारूलगायत कलाकारले क्यानभासमा चित्र कोर्नुभएको थियो । 

ग्यालरीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले कलाकारको सिर्जनाले उचित सम्मान नपाएको बताउँदै कलाकारलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै चित्रकला कार्यशालाको शुभारम्भ गर्दै प्राज्ञ बुँद रानाले कलाकार र कलाको सम्मान र उनीहरूको व्यावसायिक प्रवर्धनमा स्थानीय र प्रदेश सरकारको महìवपूर्ण भूमिका र जिम्मेवारी हुने बताउनुभयो । कार्यक्रममा नेपाल कमर्सियल आर्टिस्ट सङ्घका अध्यक्ष तथा कलाकार एचबी रम्तेलले ललितकलासँग सम्बन्धित सबै कलाकारको पेसा धरापमा पर्दै गइरहेको र स्थानीय तथा प्रदेश र सङ्घीय सरकारले कलाकारलाई व्यावसायिकतामा जोड्न नीति तथा कार्यक्रममा समेट्नुपर्ने आग्रह गर्नुभएको थियो । ग्यालरीमा चित्रको अवलोकन तथा आफूलाई मन परेको चित्रकला पनि विशेष छुटमा किन्न पाइने व्यवस्थासहित ग्यालरी सञ्चालनमा ल्याइएको सञ्चालक सुमित्रा रानाले बताउनुभयो ।