गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १९ गते । मे दिवस वा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकार, निजी क्षेत्र र बेरोजगार नागरिकलाई जोड्ने गरी ‘श्रम संसार’ पोर्टलको शुभारम्भ गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट श्रम संसार पोर्टलको शुभारम्भ गर्नुभएको हो ।
यस पोर्टलमार्फत रोजगारी खोजीमा रहेका र श्रमशक्ति खोजेकाका दुवैलाई आबद्धता गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले बताउनुभयो । “यस पोर्टलको प्रयोग गरेर रोजगारदाताले पनि आफूलाई आवश्यकता अनुसारयोग्य जनशक्ति प्राप्त गर्ने र बेरोजगार युवाले आफ्नो योग्यता र दक्षता अनुसार काम रोजगारी प्राप्त हुने हुँदा यो धेरै उपयोगी हुने छ ।”
साथै यस पोर्टलमार्फत रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास गर्न र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्ध गराउन सहज हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले श्रम संसार पोर्टलमार्फत श्रमिक, रोजगारदाता र रोजगार सेवाबिचको दुरी हटाई नागरिकको सिप, क्षमता तथा योग्यताको विकासमार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई नियमन गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजाने बताउनुभयो ।
यसलाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी आमनागरिकसँगको पहुँच अभिवृद्धि गर्ने गरी श्रमता विस्तार गर्न श्रम मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।
उहाँले सिपमूलक जनशक्ति रोजगारीमा जोडिए मात्रै समृद्ध नेपाल र सुखी नेपालीको नारा चरितार्थ हुने धारणा राख्नुभयो । सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरिसकेको र यसका लागि रणनीतिक कार्ययोजना तयार गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यस पोर्टलमार्फत रोजगारी दिने र रोजगारी खोज्ने दुवैलाई जोड्न महत्वपूर्ण पुलको काम हुने बताउनुभयो । यस पोर्टलमार्फत निजी क्षेत्रले आफूलाई कहाँ के कस्ता जनशक्ति आवश्यक छ भन्ने जानकारी लिने सक्ने छन् भने युवाले आफ्नो योग्यता र क्षमता अनुसार रोजगारी कहाँ छ भन्ने पनि सजिलै खोज्न सक्ने उहाँको भनाइ छ ।
श्रममन्त्री भण्डारीका अनुसार यो प्लेटफर्ममा सफलताका कथा पनि उपलब्ध हुने छ । जसले राष्ट्र निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने छ । यसमा रोजगारी र उद्यमशीलताका विषयवस्तु पनि उपलब्ध हुने छन् । आवेदन यहीँबाट दिन मिल्ने छ । साथै यो पोर्टल प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने मन्त्रालयले जनाएको छ ।