ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, वैशाख १९ गते । ताप्लेजुङकै दुर्गम लेलेपको ग्याब्लागाउँको विद्युतीकरणका लागि लघुजलविद्युत् योजना निर्माण हुने भएको छ । पर्यटकीय क्षेत्रका रूपमा समेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्लागाउँमा विद्युत् सुविधा पुर्याउन नागपोखरी लघुजलविद्युत् योजना निर्माण गरिने भएको हो ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा पदमार्ग अन्तर्गत ग्याब्लागाउँ पर्छ । यही पर्यटकीय तथा दुर्गम गाउँमा विद्युतीकरणको पहुँच पुर्याउन लघुजलविद्युत् योजना निर्माण गर्न लागिएको हो । फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले योजना निर्माण गरिदिने भएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र गाउँपालिकाको साझेदारीमा कुल १५ किलोवाट क्षमताको नागपोखरी लघुजलविद्युत् योजना निर्माण गर्ने गरी प्रक्रिया सुरु भएको फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडन्डु शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार योजना निर्माणमा लाग्ने कुल लागत रकममध्ये गाउँपालिकाको १० प्रतिशत र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत लगानी रहने छ ।
लघुजलविद्युत् योजना निर्माण गर्न कुल एक करोड ७२ लाख ८८ हजार १८१ रुपियाँ रकम खर्च हुने भएको छ । उक्त रकमको १० प्रतिशत बराबर १७ लाख २८ हजार ८१८ रुपियाँ रकम गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको खातामा जम्मा गरिसकेको जनाएको छ । यता योजना निर्माणका लागि बजेट सुनिश्चित भएसँगै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले बोलपत्र आह्वानको प्रक्रियासमेत सुरु गरिसकेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ऊर्जा प्रवर्धन केन्द्रमार्फत सुरु भएको बोलपत्रको प्रक्रिया करिब डेढ महिनासम्ममा पूरा हुने र योजना निर्माणको काम अगाडि बढ्ने छ ।