• १९ वैशाख २०८२, शुक्रबार

राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी

blog

हक्कीमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख १८ गते । कोसी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ ।

नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा जारी प्रतियोगितामा बिहीबार पुरुषतर्फ कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् ।

पुरुषमा कोसीले गण्डकी प्रदेशमाथि ५–३ गोलको जित निकाल्यो । कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गर्नुभयो ।

मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काउनुभयो । लक्ष्मण प्लेअर अफ दी म्याच हुनुभयो । समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अङ्क बटुल्यो ।

चार टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको थियो ।  पुरुषतर्फ लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् ।

आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुवात गरेको थियो । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् ।

एपिएफ हक्कीमा नयाँ टिम हो । एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँड्यो ।

बिहीबार महिलातर्फ भएको खेलमा गण्डकीले बागमतीलाई २–१ गोलले हारायो । गण्डकीको जितमा मायौरी राई र गीता पुनमगरले एक एक गोल गर्नुभयो । 

मायौरी प्लेअर अफ दी म्याच हुनुभयो । महिलामा नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् ।