अनिल पराजुली
हेटौँडा, वैशाख १८ गते । मकवानपुरको मकवानपुरगढीमा आफैँले ढालेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो मोरङ मिथलाजुङ गाउँपालिका–१ घर भई हाल मकवानपुरगढी–७ सुकौरामा डेरा गरी बस्ने ३१ वर्षीय राम राईको रुखले च्यापेर मृत्यु भएको हो ।
स्थानीय रामबहादुर मोक्तानको बारीमा रुख ढाल्ने क्रममा आफैँले ढालेको रुखले च्यापिएर घाइते भई उपचारको लागि साथी मकवानपुर सहकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार राई गाउँघरमा काम गरी हिँड्ने गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।