अविनाश चौधरी
धनगढी, वैशाख १८ गते । कैलालीमा विपद्का बेला समुदायको प्रयोगका लागि बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण गरिएको छ ।
टीकापुर नगरपालिका–७ बैदीमा एक करोड २१ लाख रुपियाँ लागतमा सुरक्षित आश्रयस्थल भवन निर्माण गरिएको हो । समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनामार्फत आश्रयस्थल भवन निर्माण भएको छ ।
यो परियोजना परराष्ट्र मन्त्रालय जापान तथा वल्ड भिजन जापानको आर्थिक सहयोगमा वल्ड भिजन इन्टरनेसनल र सामाजिक विकासका लागि सचेत समाजको साझेदारीमा सञ्चालित छ ।
स्थानीय विष्णुराम जैशी, श्रीमती रूपा र छोरा सागरले मिलेर डेढ कट्ठा जग्गा दानमा दिएपछि आधुनिक बहुद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण भएको सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार उच्च धारासहितको सो आश्रयस्थलमा ५०–६० घरपरिवार बस्न सक्ने छन् ।
“विशेषगरी बाढी विपत् वा अन्य कुनै महामारी, प्रकोपको बेला यो आश्रयस्थल भवन समुदायले प्रयोग गर्न सक्नेछन्” ढुङ्गानाले भन्नुभयो । हालै निर्माण सम्पन्न भएको सो आश्रयस्थल भवन टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । यसैगरी, स्थानीय दाताले दान गरेको जग्गा पनि वडा कार्यालयको नाममा नामसारी गरिएको छ ।