बाबुराम कार्की
वराहक्षेत्र, वैशाख १८ गते । प्रधामन्त्री रोजगार कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै आएको छ । गाउँका सार्वजानिक स्थलहरूको सरसफाइदेखि विकास निर्माणको कामसम्म रोजगारमा खटिएकाहरूले काम गर्दा कार्यक्रम प्रभावकारी बनेको हो ।
सुनसरी जिल्लाको उत्तरी ग्रामीण क्षेत्र वराहक्षेत्र नगरपालिकाअन्तर्गत रोजगार कार्यक्रममा खटिएका जनशक्तिले सार्वजानिक स्थलका कामहरू प्रभावकारी रूपमा गरेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाटोको झाडी सफा गर्ने, फूल गोड्ने जस्ता कामहरूका लागि कामदारहरूलाई खटाउँदै आएकोमा पछिल्लो समय विकास निर्माणका काममा समेत सहयोग पुगेको नगर आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्यअनुसारै कामदारहरूलाई खटाउँदै आएका छौ । वराहक्षेत्रमा यो कार्यक्रम एकदमै प्रभावकारी बनेको छ ।”
प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा कार्यालयमार्फत खटाइएका कामदारले सार्वजनिक स्थलहरू विद्यालय, स्वास्थ्य चौकी, सिँचाइ, पैनी, कुलो लगायतका सार्वजानिक स्थलहरूमा प्रभावकारी रूपमा काम गरेका छन् ।
६ वर्षदेखि सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दा सार्वजनिक स्थलको सरसफाइका साथै संरक्षणमा समेत सहयोग पुग्ने प्रकाशपुरका स्थानीय द्रोणराज घिमिरेले बताउनुभयो । रोजगारमा खटिएका जनशक्तिले दैनिक १० देखि ५ बजेसम्म कार्यस्थलमा खटाइएको काम जिम्मेवारीपूर्वक गर्दै आएको संयोजक गुरुङले बताउनुभयो ।
नेपालको संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३ घ मा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हकसम्बन्धी ऐन २०७५ जारी गरेको हो । मुलुकभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउने गरी सङ्घ, प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
वराहक्षेत्र १ को पहाडी क्षेत्रमा पदमार्ग समेत रोजगारमा खटिएका कामदारबाट निर्माण गरिएको वराहक्षेत्र नगरपालिकाको रोजगार सेवा केन्द्रकी रोजगार सहायक आशा राईले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडामा ५ जना पर्ने गरी ६५ जना रोजगार जनशक्तिले सार्वजानिक स्थल काम गर्दै आउनुभएको छ । रोजगारका लागि विपन्न, महिला, एकल महिला, दलित, जनजातिलगायलाई प्रथमिकता दिँदै आएको बताइएको छ ।
प्रधामन्त्री रोजगार कार्यक्रमा वराहक्षेत्र १० प्रकाशपुरकी करुणा जोगीले भन्नुभयो, “आफ्नै वडा क्षेत्रभित्र निश्चित समयका लागि घरकै भात खाएर हामी जस्ता महिलाहरूले राजगार पाउनु पनि खुसीको कुरा हो । वडा क्षेत्रमै रहेको श्री प्रकाश माध्यमिक विद्यालय हाताभित्र रहेका संरचनाको सरसफाइ गर्दै आउनु भएको उहाँले काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।”
कार्यक्रमले सार्वजानिक पूर्वाधारहरूको निर्माण, स्तरोन्नति र विस्तारमा योगदान पुर्याउँदै आएको वराहक्षेत्र वडा नम्बर १० का रोजगार संयोजक मञ्जु उराउले बताउनुभयो । उराउले भन्नुभयो, “परेका निवेदनअनुसार आवश्यकताका आधारमा काम गर्दै आएका छौँ ।”