• १८ वैशाख २०८२, बिहिबार

‘मेरा काका चाउ एनलाई’ पुस्तकको लोकार्पण

blog

काठमाडौँ, वैशाख १८ गते ।  ‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण पुस्तक विमोचन गरिएको छ । बेल्ट एन्ड रोड पुस्तकालयमा बुधबार  ‘माइ अंकल चाउ एनलाई’ को नेपाली संस्करण  ‘मेरा काका चाउ एनलाई’ पुस्तक विमोचन गरिएको हो । 

नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा चाउ एर्लियुद्वारा लिखित सो पुस्तक पूर्व चिनियाँ प्रधानमन्त्री चाउ एनलाईकी नातिनी चाउ रोंग, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन, चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतम, अनुवादक अजय शर्मा र सम्पादक तथा प्रकाशक किरण गौतमले विमोचन गर्नुभयो । 

कार्यक्रममा वाङ सीनले प्रधानमन्त्री चाउको निःस्वार्थ योगदान र नेपाल—चीन सम्बन्ध निर्माणमा गरेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सन् १९५७ र १९६० का नेपाल भ्रमणहरूदेखि लिएर सगरमाथा—चोमोङमा सीमा समाधानसम्मको प्रसङ्ग स्मरण गर्दै भन्नुभयो, “यो पुस्तक केवल जीवनी होइन, यो हिमालपारको आत्मिक पुल हो ।”

चाउ एनलाईकी नातिनी चाउ रोंगले नेपालमा प्राप्त आत्मीय स्वागतप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिवारको नेपालप्रतिको सम्बन्धबारे आत्मीय अनुभूतिका बारेमा चर्चा गर्नुभयो । चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतमले चाउ एनलाईको कुटनीतिक योगदानलाई हिमालय क्षेत्रको भू—राजनीतिक सन्दर्भमा जोड्दै विश्लेषण गर्नुभयो । 

सम्पादक तथा प्रकाशक किरण गौतमले कार्यक्रमका क्रममा पुस्तक प्रकाशनको पृष्ठभूमिको चर्चा गर्दै दुई वर्षअघि चाउको पुण्यतिथिमा नेपाल पोस्टको १९७६ जनवरी ११ को अङ्क विच्याटमा सेयर गरेको प्रसङ्ग सुनाउनुभयो । सोही सन्दर्भले यिलिन प्रेसकी मिस याङसँग सम्पर्क गराएको र अनुवाद सहकार्य प्रारम्भ भएको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले आफ्नो बाल्यकालको सम्झनासँग जोडिएको दुर्लभ संस्मरण पनि सुनाउनुभयो । उहाँका अनुसार सन् १९५७ मा पशुपतिनाथ मन्दिरको प्रवेशमा विदेशीलाई निषेध हुँदाहुँदै प्रधानमन्त्री चाउ एनलाईलाई विशेष अनुमति दिइएको थियो । त्यसबेला उहाँले पाँच सय भारतीय रुपियाँ मन्दिरमा दान दिएको उहाँका बुवाले प्रत्यक्ष देखेको बताउनुभयो ।  

कार्यक्रममा पुस्तकका नेपाली अनुवादक अजय शर्माले पुस्तक अनुवादमा लागेको भावनात्मक र बौद्धिक यात्राको अनुभव सुनाउनुभयो । उहाँले चाउ एनलाई केवल एक राजनेता मात्र नभएर एक सहृदय र गम्भीर व्यक्तिका रूपमा आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तक अनुवाद गर्दा मैले चिनियाँ इतिहासका महत्त्वपूर्ण घटनाहरू अनुभव गर्ने अवसर पाएँ । यो काम केवल भाषानुवाद मात्र थिएन, यो दुई देशका संस्कृतिबिचको सेतु निर्माणको अवसर पनि थियो ।”