• १८ वैशाख २०८२, बिहिबार

एमएम कप : नेपाल पुलिस फाइनलमा

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै पुलिस र आसामका खेलाडी ।

काठमाडौँ, वैशाख १८ गते । विभागीय टोलीनेपाल पुलिस क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

बिहिबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई पाँच विकेटले हरायो । फाइनलमा पुलिसले शनिबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस समूह ‘बी’ को विजेता बनेको हो । 

जितका लागि आसामले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २६.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । पुलिसका लागि अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धसतकीय योगदान दिनुभयो । अमितले ७१ र शंकरले ६३ रन बनाउनुभयो । 

बलिङमा आसामका गोकुल शर्माले सर्वाधिक तीन विकेट लिनुभयो। चिरन्तन खात्तिनियरले एक विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४२.२ ओभरमा सबै विकेटको क्षतिमा  एक सय ५४ रन बनाएको थियो । 

आसामको लागि ओपनर राज विश्वले सर्वाधिक ३३ रन बनाउनुभयो । अरुण सोनारले ३१, केभिन संजीवले २३ र हियम कश्यपले १९ रन बनाउनुभयो । 

बलिङमा पुलिसका अरुण ऐरी र श्रवन यादवले तीन तीन विकेट लिनुभयो ।  बिपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले एक एक विकेट लिनुभयो । 

प्रतियोगिताको विजेता टोलीले चार लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउने छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत उत्कृष्टलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।