• १८ वैशाख २०८२, बिहिबार

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

blog

ढोरपाटन सिकार आरक्षमा नाउरको सिकार गरेपछि तस्बिर खिचाउँदै विदेशी सिकारी । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), वैशाख १८ गते । ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो याम (फागुन–वैशाख) मा ११ नाउर र सात झारलको सिकार भएको छ ।

ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकारयामका लागि १३ नाउर र १० वटा झारलको कोटा निर्धारण गरी अनुमति दिएको थियो । तर, दोस्रो याममा कोटाभन्दा दुई नाउर र तीन झारलको कम सिकार भएको हो ।

नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. जावलाखेल ललितपुरमार्फत आएका तीन र हिमालयन वाइल्ड लाइफ आउटफिर्टसबाट आएका एक विदेशी सिकारीले यस पटक निर्धारित कोटाभन्दा पाँच वटा वन्यजन्तुको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । 

रेन्जर सुवेदीले नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. मार्फत एक नाउर र एक बँदेलको सिकार अनुमति प्राप्त गरेका अमेरिका नागरिक मार्क भर्नन पिटरसन सिकार गर्न नआएको बताउनुभयो । यस्तै, एक नाउर र एक झारलको सिकार अनुमति पाएका फ्रान्सेली नागरिक ओलिभर चाल्र्स भेरिजले सिकार गर्न सकेनन् । ओलिभर सिकारका लागि ढोरपाटन आए पनि दोगाडी ब्लकमा नपुग्दै हतियारमा समस्या आएपछि बिचबाटै घर फर्किएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । 

एक–एक नाउरको सिकार गरेका नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. मार्फत अमेरिकन नागरिक जेम्स लेरोय जोनसन र हिमालयन वाइल्ड लाइफ आउटफिर्टस मार्फत स्पेनिस नागरिक मार्कोस ओलाइजोला अल्कोर्टाले झारलको सिकार गर्न सकेनन् । उनीहरुको नाउर सिकारपछि व्यक्तिगत समस्याले झारलको सिकार नगरी फर्किएको रेन्जर सुवेदीले बताउनुभयो । जेम्सले गुस्तुङ्ग ब्लकमा एक नाउर र मार्कोसले सुनदह ब्लकमा एक नाउरको सिकार गर्नुभयो ।  

हिमालयन वाइल्ड लाइफ आउटफिर्टसमार्फत स्पेनिस नागरिक एडुआर्डो सान्चेज ओकानागुन्डिनले सेङ, घुस्तुङ्ग ब्लकमा एक नाउर र एक झारल, ट्रयाक्स एन्ड ट्रेल्स प्रा.लि. मार्फत दुई अमेरिकन नागरिक जोहान लि. एमिस्टोसो र केभिन क्लम्परले सेङ र गुस्तुङ्ग ब्लकमा दुई नाउर र दुई झारलको सिकार गर्नुभएको हो । यस्तै, हिमालयन सफारिज प्रा.लि. मार्फत तीन अमेरिकन नागरिक डेभिड युजिन टटल, जेसिका जोय भान्डेन बर्ग र रायन जे बर्टले दोगाडी (पूर्वी रुकुम) ब्लकमा तीन नाउर र एक झारलको सिकार गरेको रेन्जर सुवेदीले बताउनभयो ।

ग्लोबल सफारिज नेपाल प्रालि. मार्फत रसियन नागरिक एन्ड्री जायकाले फागुने ब्लकमा एक नाउर र एक झारल र अमेरिकन नागरिक माइकल बन्र्स मिलर जुनियरले बार्सेमा एक नाउर, ओपन नेपाल वाइल्डलाइफ सफारी एन्ड ट्रेक्स प्रा.लि. मार्फत सुनदह ब्लकमा अर्जेन्टिनाका भिगास एलेजोले एक नाउर र भेरोनेसी जुआन क्रुजले एक झारल र स्पेनिस नागरिक गोन्जालेज रेभिल्ला मिरो इमानुएल आर्टुरोले एक झारलको सिकार गरेको रेन्जर सुवेदीले बताउनुभयो । 

यस याममा १२ बँदेलको सिकार अनुमति पाए पनि कुनै पनि सिकारीले बँदेलको सिकार नगरेको रेन्जर सुवेदीले बताउनुभयो । उहाँले बँदेल सिकारीहरूको प्राथमिकतामै नपरेको बताउनुभयो । ‘हरेक याममा बँदेल सिकारका लागि विभागले अनुमति प्रदान गर्दछ’ रेन्जर सुवेदीले भन्नुभयो, ‘विदेशी सिकारीहरू नाउर झारलको सिकार गर्न प्राथमिकता दिएर आउने गर्दछन् । उनीहरूले नाउर र झारलको सिकार गरेपछि फर्किने गरेका छन् । 

बँदेल विदेशी सिकारीको रोजाइमा परेको छैन ।’ विभागले फागुन महिना शिकारका लागि पेशेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट शिलबन्दी दरभाउपत्र आव्हान गरी बोलपत्र प्रक्रियाबाट छानिएका ६ कम्पनी मार्फत पाँच देशका १५ जना पेशेवर विदेशी सिकारीहरूले यस वर्षको दोस्रो याममा सिकार गरेका थिए ।

यस पटक सिकारीहरूले एउटा नाउरको ७ लाख ५० हजार रुपियाँसम्म राजस्व तिरेको रेन्जर सुवेदीले बताउनुभयो । उहाँले दोस्रो याममा सिकारमार्फत एक करोड २६ लाख ४० हजार रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो याम (असोज–मङ्सिर) मा एक करोड ४१ लाख ३० हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

ढोरपाटनमा शिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्र आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

सिकारी हेलिकाेप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुची राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शक सहितको टोलीले १५ दिन आरक्षमा बिताउने गरेका छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ ।

आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ । विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक सिकारीलाई नेपाल भित्र्याउँछन् । सिकार पर्यटनबाट प्रतिवर्ष करोडाैँ रुपियाँ राजस्व ढुकुटीमा जम्मा हुन्छ । सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।