• १८ वैशाख २०८२, बिहिबार

आवासीय र घुम्ती शिक्षा खोज्दै उपल्लो मुस्ताङ पुग्छन् विद्यार्थी

blog

मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ मा अवस्थित दिव्यदिप माविमा पढ्न आएका मुस्ताङ बाहिरका विद्यार्थी । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १८ गते ।
जाजरकोट जिल्लाका खगेन्द्र विक उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, छोसेरमा रहेको दिव्यदिप माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । भूकम्प प्रभावित परिवारका सदस्य विक आफन्तको सहयोगमा मुस्ताङ पुग्नुभएको हो । विकजस्तै रुकुम पश्चिमका आशिष विक कक्षा ७ मा भर्ना हुनुभएको छ । उदयपुरकी कल्पना नेपाली, राज नेपालीले विद्यालयमा कक्षा ८ मा भर्ना भइसक्नुभएको छ ।

उपल्लो मुस्ताङको एक मात्रै मावि विद्यालयको रूपमा रहेको दिव्यदिपमा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, धनुषा, रूपन्देहीलगायतका विद्यालयका २६ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीले बताउनुभयो । प्रअ त्रिपाटीले भन्नुभयो, ‘‘यस वर्ष जिल्ला बाहिरबाट नयाँ भर्नाका लागि समेत विद्यार्थीको आगमन भएको छ, आवासीय सुविधाले बाहिरी जिल्लाका विद्यार्थीको आर्कषण बढेको छ ।’’

अभिभावकविहिन बालबालिका, आर्थिक रूपमा विपन्न विद्यार्थीलाई हिमाली आवासीय छात्रवृत्ति, पोशाक, कम्प्युटरसहित अन्य सुविधाले आर्कषित गरेको विद्यालयका प्रअ त्रिपाटीले भन्नुभयो । विद्यालयमा बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी भर्ना भएका छन् ।

मुस्ताङको पहिलो घुम्ती विद्यालयले ६ महिना पोखराको विजयपुरमा रहेको आफ्नै चार तले भवनमा पठनपाठन गराउने भएकाले पनि बाहिरी जिल्लाका विद्यार्थीको आर्कषण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्वण विष्टले बताउनुभयो । अध्यक्ष विष्ट भन्नहुन्छ, ‘‘विद्यार्थीलाई चाहिने सेवासुविधा दिन्छौं, बाहिरी जिल्लामा पनि भर्ना अभियानका बारेमा प्रचारप्रसार गरेका छौ ।’’ विद्यार्थीलाई हिमालस् आवासीय छात्रबृत्ति बापतको ५ हजार वार्षिक रूपमा उपलब्ध गराउने गरिन्छ । 

यसैबिच शैक्षिक तथा संस्थागत विकासका लागि करिब पाँच करोडको भूकम्प प्रतिरोधी छात्रावास भवन निर्माणका स्थानीय वृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा समेत दान दिनुभएको छ । उत्तरी चीनसँग सिमाना जोडिएको कोरला नाका जाने सडक नजिकै रहेको विद्यालयमा लोमन्थाङ गापा बाहेक छिमेकी लो–घेकर दामोदरकुण्ड गाउँपालिकाबाट समेत विद्यार्थी आउँछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका प्रमुख रामेश्वर लामिछानेले मुस्ताङका पाँचै वटा स्थानीय तहमा रहेका मावि ८, आमावि २७, गुम्बा २ र आवासीय मावि १ मा अघिल्लो वर्ष कुल ३७ सय ३७ विद्यार्थी रहेकोमा यस वर्ष भर्ना अभियान जारी रहेकाले तथ्याङ्क सङ्कलन भइरहेको बताउनुभयो । एकाइ प्रमुख लामिछानेले भन्नुभयो, ‘‘मुस्ताङका एघार विद्यालयमा घुम्ती शिक्षाको सुविधा छ, जाडोयाममा सबै पोखरामा सञ्चालन हुने भएकाले बाहिरी जिल्लाका विद्यार्थी यहाँ पढ्न आउँछन् ।’’