काठमाडौँ, वैशाख १८ गते । स्पेनिस महारथि बार्सिलोना र इटालियन टोली इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा बराबरी खेलेका छन् ।
बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेजले एक एक गोल गर्नुभयो ।
बार्सिलोनाले अर्को गोल इन्टरबाट आत्मघाती उपहार पाएको थियो । इन्टरका लागि डेन्जल डमफ्रिजले दुई तथा मार्कस थुर्रमले एक गोल गर्नुभयो ।
खेलमा सुरुवाती अग्रता इन्टरले लिएको थियो । पहिलो मिनेटमै थुर्रमले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । २१औँ मिनेटमा डमफ्रीजले टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
त्यसपछि जोसिएको बार्सिलोनाका लागि यामलले २४औँ र टेरेसले ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउनुभयो । ६३औँ मिनेटमा डमफ्रीजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई पुन: अगाडि बढाउनुभयो ।
तर ६५औँ मिनेटमा बल बचाउने क्रममा इन्टरका गोलरक्षक यान सोमरबाट आत्मघाती गोल भएपछि खेल बार्सिलोनाले बराबरीमा सकेको हो । दोस्रो लेग इन्टरको घरेलु मैदानमा हुनेछ । एजेन्सी