• १८ वैशाख २०८२, बिहिबार

वन क्षेत्रबाट अवैध उत्खनन, ट्याक्टरसहित तीन जना पक्राउ

blog

वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा वन कर्मचारीले नियन्त्रणमा लिएको ट्याक्टर । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, वैशाख १८ गते ।
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीनवटा ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार राति वन कर्मचारीको गस्ती टोलीले वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा ट्याक्टरसहित उत्खननमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले सव डिभिजन वन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको संयुक्त गस्ती टोलीले ज १ त ६३७७, ज १ त ४८५६ र मधेश प्रदेश ०२–००१ त–२८७७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

साथै उहाँले मिथिला नगरपालिका–५, विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरालाई पनि नियन्त्रणमा दिएको बताउनुभयो ।

सिंहले अवैध उत्खनन आरोपमा पक्राउ परेका मानिस तथा प्रयोग भएका सवारीसाधनमाथि आवश्यक थप अनुसन्धान गरी वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वन क्षेत्रको संरक्षणका लागि नियमित गस्ती भइरहेको छ । अवैध उत्खनन तथा वन क्षेत्रको दोहन गर्ने कार्यमा संलग्न कसैलाई पनि कानुनी दायराबाट बाहिर जान दिइने छैन ।

पछिल्लो समय धनुषाको विभिन्न सामुदायिक वन क्षेत्रमा रातिको समयमा अवैध ढङ्गले बालुवा, माटो र अन्य सामग्री उत्खनन हुने क्रम बढ्दो रहेको छ । यस्ता क्रियाकलापले वन क्षेत्रको जैविक विविधता र पर्यावरणमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला तथा स्थानीयले रोकथामको माग गर्दै आएका छन् ।