• १८ वैशाख २०८२, बिहिबार

चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण

blog

बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा चन्दा सङ्कलन गरेर निर्माण गरिएको सामुदायिक काजकिरिया भवन । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख १८ गते ।
बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौरवासीले चन्दा सङ्कलन गरेर सामुदायिक काजक्रिया भवन निर्माणका छन् । स्थानीय र प्रवासी नेपालीबाट सहयोग जुटाएर २३ लाख रुपियाँको लागतमा तीन कोठे भवन निर्माण गरिएको हो ।

भवन निर्माणमा बिहुँकोट समाज जापानले सबैभन्दा धेरै एक लाख ५५ हजार पाँच सय ५५ र बागलुङ बजार निवासी रामचन्द्र राजभण्डारी परिवारले आफ्ना मातापिताको सम्झनामा एक लाख ३५ हजार रुपियाँ सहयोग गरेको भवन निर्माण समितिका अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले जानकारी दिनुभयो । भवन निर्माणमा स्थानीयले जनश्रमदान समेत गरेका थिए ।

सहरी क्षेत्रमा भाडामा बसेका तथा सानो घर बनाएर बसेकाहरुले नित्य क्रिया गर्ने स्थान पाउन गाह्रो भइरहेका बेला काजक्रिया भवनले राहत दिने जिसीको भनाइ छ । भवनमा तीन जना परिवारले एकैसाथ नित्य क्रिया गर्न सहज होस् भन्ने उद्देश्यले समुदायको अुवाइमा तीन कोठे भवन र तीन वटा  शौचालय निर्माणको गरिएको छ ।

भवन कुनै जात विशेष नभई सबै समुदायले निश्चित भएर प्रयोग गर्न पाउने छन् भने आर्थिक अभावका कारण काजक्रिया गर्न नसक्ने परिवारलाई व्यवस्थापन समितिले आर्थिक सहयोग समेत नित्यक्रिया उम्काइदिने अध्यक्ष जिसीले बताउनुभयो । भवन सबै समुदायले उपयोग गर्ने गरी खुला गरिएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सामुदायिक भवनले समाजमा बस्नेका लागि अधिकतम काम दिने बताउनुभयो । भवन बनाउन नगरपालिकाले एक लाख ३६ हजार रुपियाँ सहयोग गरेको थियो । भवन उपयोगमा दिने र व्यवस्थापन गर्न बलबहादुर भण्डारीको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।