काठमाडौँ, वैशाख १७ गते । नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित भएको छ । नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको बताउनुभएको हो ।
बुधबार काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानबाट संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै उहाँले यस्तो बताउनुभयो ।
यद्यपी, उहाँले संरक्षक चौधरीलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले कुनै जानकारी नदिएको बताउनुभयो । उहाँले पहिचानवादी शक्तिहरूबिच एकता नहोस् भन्ने शक्तिले एकता प्रक्रिया बिथोल्न खोजेको आरोप लगाउनुभयो । उहाँले तत्कालका लागि पार्टी एकता रोकिएको बताउनुभयो । जनमत पार्टीसँग छलफल गरेर पुनः एकता प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘आजको एकता प्रक्रिया स्थगित हुन्छ । अब के कस्तो रहेछ बुझेर एकता प्रक्रिया जारी रहन्छ । केही दिनपछि पुनः एकता प्रक्रिया अन्तिम टुङ्गो हुन्छ ।’’
त्यस्तै, जनमत पार्टीका उपाध्यक्ष खब्दुल खानले केही दिनभित्र पुनः पार्टी एकता हुने बताउनुभयो । उहाँले मधेशी, थारू तथा मुश्लिम समुदायबिच एकता हुन लाग्दा सरकारले पार्टीको संरक्षकलाई पक्राउ गर्नु राजनीतिक दुर्घटना भएको जानकारी दिनुभयो । उपाध्यक्ष खानले सरकारले मधेशी समुदायमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो । पार्टी एकताबारे केही दिनमै अन्तिम टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
‘‘कुनैपनि प्रक्रिया पूरा नगरेर एउटा संरक्षकलाई एउटा पार्टीको नेतालाई त्यो पनि दुईटा पार्टीको पूर्व र पश्चिमबाट उदाएका दुई वटा शक्तिहरूलाई एकजुट हुँदाखेरि यसरी समातिनु वास्तवमा दुर्घटनामुलक कुरा हो । सरकारको यो कदमको म निन्दा र घोर भत्र्सना गर्छु । यस्तो कार्य सरकारले कहीँ कतैबाट सरकारले गर्नुपर्दैन थियो ।,’’ उपाध्यक्ष खानले भन्नुभयो, ‘‘तथापि यो गरिएको छ वास्तवमा यो मधेशी थारू समुदायको निम्ति कुठाराघात गरिएको वास्तवमा यो मधेशी थारूहरू मुश्लिमहरु पिछडा वर्गहरू एक ठाउँमा आउनु हुँदैन भनेर यो हर्कत गरिएको छ म नागरिक जनमत पार्टीको तर्फबाट निन्दा व्यक्त गर्न चाहन्छु । यो कसले गरेको हो फाइनल भएको छैन तर सरकारले नै गरेको जस्तो आभास भएको छ ।’’
खानले फुटको राजनीति गरेर शासन सत्ता सञ्चालन गरिरहेका नेताहरूले एकता नहोस् भनेर गरेको षड्यन्त्र भएको आराप लगाउनुभयो ।