काठमाडौँ, वैशाख १७ गते । चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताउनुभएको छ ।
चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबिचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गीतसङ्गीतझैँ सरल र सहज कथामा चलचित्र बनेको छ । यसले दुई दशक अगाडिको समयमा फर्काउँछ र त्यसबेलाको एउटा ग्रामीण परिवेशसँग परिचित गराउँछ । यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ ।”
उहाँले पछिल्लो समय आइरहेका भन्दा नितान्त भिन्न भूमिकामा आफू चलचित्रमा देखिने बताउनुभयो । उक्त चलचित्रका निर्देशक नवीन चौहानले चलचित्रमार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकसम्म पुर्याउन लागेको बताउनुभयो ।
“मैले सोचेको एउटा संसारलाई चलचित्रको पर्दामा ल्याएको छु । यो पात्र र यहाँको परिवेश मेरो कल्पना र यथार्थ हुन् । गीतसङ्गीतमार्फत् कथा भन्दै गर्दा यसपटक ठुलो पर्दामा आएका छौँ”, उहाँले भन्नुभयो ।
पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा अभिनेता कार्कीसँगै अभिनेत्री मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री मगरले उक्त चलचित्रमा आँखालाई शीतलता, कानलाई कर्णप्रिय सङ्गीतसहित पाँचथरको एक समाजको कथालाई देखाइएको बताउनुभयो ।
“बाल्यकाल नै विदेशमा बितेकाले होलो, यसपटक छुटै संसारमा बाच्न पाएँ । मैले आफ्नो ‘पात्र’अनुसारको भूमिका सफलतापूर्वक पूरा गरेकी छु । चलचित्रले गुरुङ–मगर र बाह्मण समुदायको संस्कृति र आपसी सद्भावलाई झल्काउने कोशिस गरेको छ ।” अभिनेत्री मगरले भन्नुभयो ।
उक्त चलचित्रमा गीतसङ्गीत निर्देशकको भूमिका गायक सुजन चापागाईंले निर्वाह गर्नुभएको छ । उहाँले चलचित्रमा काम गर्दा नयाँ अनुभव सङ्गालेको बताउनुभयो । निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ । रासस