ज्योति पन्थी
बबई(बर्दिया) वैशाख १७ गते । बर्दिया जिल्लामा स्थायी बसोवास भएका र देशका विभिन्न स्थानमा सेवारत रहदा शहादत प्राप्त गरेका अमर सहिद सशस्त्र प्रहरीका परिवारलाई बुधबार सम्मान गरिएको छ ।
बर्दियाको गुलरियामा रहेको सशस्त्र प्रहरीबल नेपाल नं. ३१ गण हेडक्वाटर बर्दियाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शहीद परिवारलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा २०७२ भदौ ७ गते टीकापुर घटनामा ज्यान गुमाएका वरिष्ठ हवलदार रामबिरही थारूको पत्नी सिर्जना थारू, चैनपुर घटनामा ज्यान गुमाएका खुसीराम थारूको श्रीमती टिकारानी थारू, सम्सेरगञ्ज घटनामा ज्यान गुमाउने नरबहादुर थारूको भाई ठाकुरसिंह थारू, हवलदार प्रकाश घिमिरेको बुवा देवीराम घिमिरे, लाहनु चौधरीको श्रीमती रुविना चौधरी, उग्रसेन चौधरीको श्रीमती हीरालाल चौधरी सहायक हवलदार ताराबहादुर बुढाकी आमा नन्दा बुढा र सीताराम चौधरीको बुवा झोलारी थारू छन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नं ३१ को वार्षिक उत्सवको अवर पारेर सहिद परिवार र उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरूलाई सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेडक्वार्टर बर्दियाका प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताउनुभयो ।
वार्षिक उत्सव कार्यक्रममा सशस्त्र प्रहरी नायव महानरिक्षक प्रदीपकुमार पाल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्साल लगायत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।