सुजल श्रेष्ठ
प्युठान, वैशाख १७ गते । जिल्लामा रहेका ग्रामीण समुदायमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय जनजीवनलाई सहज बनाएको छ । गाउँ–गाउँमा मोटर बाटो पुगे पनि स्थानीयलाई दैनिक रूपमा घाँस दाउरा, मेलापात गर्न झोलुङ्गे पुल नै सारथी बन्ने गरेको छ ।
मल्लरानी गाउँपालिकाको वडा–५ स्थित कालाखोलामा झोलुङ्गे पुल निर्माण भएपछि गाउँका मानिसलाई पैदल हिड्न, मेलापात गर्न, घाँस–दाउरा गर्न सहज भएको स्थानीय किरण पन्थीले बताउनुभयो । २०७९ भदौ १३ गते सम्झौता भएर निर्माण सुरु भएको ४८ मिटर लामो पुल भर्खरै निर्माण सप्पन्न भएको हो ।
पुल बनाउन ३० लाख ३९ हजार ६९६ रुपियाँ लागत लागेको छ । जसमा समुदायको ६० हजार, मल्लरानी गाउँपालिकाको ४ लाख १ हजार ९५१, झोलुंगे पुलको क्षेत्रगत कार्यक्रमको २३ लाख ५५ हजार ३९३ र लठ्ठालगायत सामग्री २ लाख २ लाख २२ हजार ३५२ लागत लागेको खर्च विवरणमा उल्लेख छ ।
स्वर्गद्वारी नगरपालिका ३ र ४ नम्बर वडा जोड्नेगरी झोलुङ्गे पुल निर्माण गरिएको छ । सातमोडे जारी खोला झोलुङ्गे पुल निर्माण भएपछि दुई वटा वडाका ३०६ घरधुरी लाभान्वित भएका छन् ।
५२ लाख ४४ हजार २९० रुपियाँको लागतमा ७८ मिटर लामो झोलुङ्गे पुल बनेको हो । झोलुङ्गे पुलको क्षेत्रगत कार्यक्रम अन्तर्गत ४४ लाख ५७ हजार ६४६ रुपियाँ, स्वर्गद्वारी नगरपालिकाको ६ लाख ९१ हजार ७५७ रुपियाँ र उपभोक्ताले एक लाख चार हजार ८८५ रुपियाँ लगानी गरेका छन् ।
१२० मिटरभन्दा कम दूरीका झोलुङ्गे पुल निर्माणका लागि मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले सामाजिक तथा प्राविधिक सहयोग गर्नेगरेको छ । यो वर्ष विभिन्न स्थानीय तहमा ६ वटा नयाँ झोलुङ्गे पुल निर्माण भएको सामाजिक परिचालक गिरबहादुर धामीले बताउनुभयो । नौ बहिनी गाउँपालिकाको दुई वटा झोलुङ्गे पुलको डिपिआर तयार भएको उहाँले जानकारी दिनुभयो ।