काठमाडौँ, वैशाख १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गर्नुभएको छ । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताउनुभयो । उहाँले अब चाडैँ नै उक्त मस्यौदालाई चाडैँ नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको बताउँदै उहाँले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको बताउनुभयो । मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रूपमा रहेको पशुपति नाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता समेत दोहोर्याउनुभयो । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरू ओझेलमा परेको प्रति चिन्ता जाहेर गर्नुभयो ।
पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरूको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरूको आवश्यकता औंल्याउनुभयो । त्यसैगरी उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी विकाष कोष र पशुपति विकास कोषबिच एक आपसमा सहकार्यसहित अघि बढ्न सुझाउनुभयो ।