• १७ वैशाख २०८२, बुधबार

दोलखा ‘रक क्लाइम्बिङ महोत्सव’ हुँदै

blog

चरिकोट, वैशाख १७ गते । दोलखालाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने भएको छ । महोत्सवमा क्लाइम्बिङ प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।  

सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा दोलखाको सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ वैशाख २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको हो । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित सोक्ला भ्यालीमा आयोजना हुने यो तेस्रो संस्करणको महोत्सव रहेको पर्यटन विकास समाजले जनाएको छ । 

नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा  दुई दिने रक क्लाइम्बिङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । ‘साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरु गरिएको हो’, समाजका अध्यक्ष पाख्रिनले भने, ‘सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुम डाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाइम्बिङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरेका छौं ।’

सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५-२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको छ । यस वर्ष रक रुट सय मिटरको उचाइमा पुर्‍याउने लक्ष्य रहेको पर्यटन विकास समाजले जनाएको छ ।  

पर्यटन विकास समाजले २०७८ देखि सोक्ला भ्यालीको चरा पर्यावरण, प्रकृतिसँगै संस्कृति, पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकासमा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ । समाजले यसअघि जापानीज नागरिकहरूको हिकारी संङ गिफ्ट कार्यक्रम, फ्रान्सको दूतावासको सहयोगमा रक क्लाइम्बिङ हाइकिङ गरेका थिए । यसपछि समाजले साहसिक गन्तव्यको रूपमा सोक्ला भ्यालीलाई प्रवर्द्धन गर्ने क्रममा रक क्लाइम्बिङ परियोजना सञ्चालन गर्दै आइरहेको छ ।  

समाजका अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना भएको बताए । यहाँ बन्जिजम्प, जिपलाइन, साइक्लिङ, चराका प्रजाति अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्‍याफ्टिङ जस्ता सम्भावना भएको पाख्रिनको भनाइ छ ।  

‘भीमेश्वरको सोक्ला भ्याली सम्भावना बोकेर पनि ओझेलमा परेको पर्यटकीय साहसिक गन्तव्य हो,’ अध्यक्ष पाख्रिनले भन्नुभयो,‘तर, स्थानीय तहले यस विषयमा  अध्ययन अनुसन्धान र सम्भावनाको विषयमा खोजी गर्न सकेको छैन ।’ 

सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरीशङ्कर शृङ्खलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।

महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेका छन् । रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकी, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुति रहनेछ । 

सोक्लाश्वरी पर्यटन विकास समाजले विगत पाँच वर्षदेखि सोक्ला रक क्लाइम्बिङ प्रवर्धनमुखी कार्यक्रमहरू गर्दै आइरहेको छ । रक क्लाइम्बिङ महोत्सवमा तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ ।