• १७ वैशाख २०८२, बुधबार

आगलागीबाट दस करोड रुपियाँभन्दा बढी क्षति

blog

तम्घास समाचारदाता

तम्घास, वैशाख १७ गते ।  पछिल्लो समय गुल्मीमा आगलागीका घटना वृद्धि हुँदै गएका छन् । पछिल्लो चार आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा ५७० वटा आगलागीका घटनामा १६ जनाको मृत्यु भएको छ भने १० करोडभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६९ वटा घटनामा तीन जना पुरुषको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आव २०७९/८० मा १२६ वटा आगलागीका घटनामा दुई जना पुरुष, एक बालक र तीन जना ज्येष्ठ नागरिक गरी छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

आर्थिक वर्ष २०८०/८१ मा २८४ वटा आगलागीका घटनामा परी दुई जना महिला, एक जना पुरुष, एक जना बालक र एक जना ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ९१ वटा आगलागीका घटनामा एक जना महिला र  एक जना बालक गरी दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

सोही समयावधिमा १३२ वटा घर र १८७ गोठ जलेर नष्ट भएका छन् । तीन वटा सरकारी कार्यालयमा पनि आगलागीका घटना भएको छ । उक्त समयमा आठ वटा सवारीसाधनमा पनि आगलागीका कारण क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चार वर्षको अवधिमा आगलागीका कारण २६० पशुचौपाय मरेका छन् भने ९३ घाइते भएका छन् । गुल्मीमा आगलागीका कारण १० करोडभन्दा बढीको क्षति भएको छ । आव २०७८/७९ देखि २०८१/८२ को हालसम्म जिल्लामा आगलागीका ५७० घटना हुँदा १० करोड ३० लाख ४७ हजार ७०० रुपियाँ बराबरको क्षति भएको छ । 

दमकल खरिद कागजमा सीमित 

२०७७ वैशाखमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी भरत शर्माको अध्यक्षतामा जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लामा स्थानीय तहको समन्वयमा दमकल खरिद गर्ने निर्णय गर्‍यो । सकेसम्म एक्लै र नभए पायक पर्ने दुई स्थानीय तहले एक दमकल खरिद गर्ने निर्णय भए पनि सो निर्णय कागजमा मात्र सीमित भएको छ । जिल्लामा रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल रहेको छ । 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दमकल खरिद गर्ने निर्णय भए पनि कार्यान्वयन भने गर्न नसकेको स्वीकार गर्नुभयो । आफूहरूसँग बजेट नहुने र स्थानीय तहसँग समन्वय गर्नुबाहेकको अर्को विकल्प नरहेको उहाँको भनाइ छ ।