• १७ वैशाख २०८२, बुधबार

फोहोरमैला व्यवस्थापन जटिल

blog

डन्डा नदीको छेउमा फालेको फोहोर । तस्बिर : सीता काफ्ले

तिनाउ समाचारदाता

तिनाउ (रुपन्देही), वैशाख १७ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा फोहोर व्यवस्थापनको विषय जटिल बन्दै गएको छ । फोहोर व्यवस्थापनका लागि स्थायी संरचना नहुँदा फोहोरको दिगो व्यवस्थापन जटिल बनेको हो । 

विगत लामो समयदेखि फोहोर व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकासहित जोडिएका पालिकाको आपसी समन्वय र समझदारीमा फोहोरको दिगो व्यवस्थापन गर्ने भने पनि परियोजना सुरु गर्ने बेला राजनीतीकरण हुँदा फोहोर व्यवस्थापनको काम प्रभावित भएको हो ।  

फोहोर व्यवस्थापनको समस्या सिद्धार्थनगरसहित रोहिणी, ओमसतिया, मायादेवी गाउँपालिकालगायतका अन्य पालिकामा पनि जटिल बन्दै गएको छ । रुपन्देहीका धेरैजसो पालिकामा फोहोरमैला व्यवस्थापनका लागि स्थायी संरचना छैनन् । सिद्धार्थनगर नगरपालिकाले पालिकाभित्रबाट सङ्कलन हुने फोहोरलाई सिद्धार्थनगरको पर्यटकीय क्षेत्र डन्डाखोलमा फ्याँक्दै आएको छ । 

नगरपालिका आफैँले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउँदै आएको डन्डा नदीमा फोहोरको बिसर्जन गर्दा स्थलमार्ग बेलहिया हुँदै लुम्बिनी आउने पर्यटकदेखि स्थानीय र बाटो वारपार गर्ने बटुवालाई फोहोरको दुर्गन्धले सताउने गरेको छ । डन्डा नदीछेउमा रहेको प्रतिमान निमा स्मृति प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले फोहोरको दुर्गन्धले पठनपाठनमा समेत समस्या आउने गरेको बताउनुभयो । 

डन्डा नदीको छेउमा रहेको फोहोर डम्पिङ साइटनजिकै साल्ट ट्रेडिङको नुनको गोदाम तथा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रहेको छ । फोहोरको गन्धले नुनको गोदाममा काम गर्ने कामदारदेखि सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई समेत सताएको छ । 

स्थानीय स्वाती थापाले सिद्धार्थनगरका लागि  फोहोरमैला व्यवस्थापन एक संवेदनशील र जटिल मुद्दा बनेको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाले डन्डाखोलामा फालेको फोहोरका कारण हवाई सुरक्षामा समेत चुनौती थपिएको उहाँको भनाइ छ । विमानस्थलको १० किलोमिटर वरपरसम्म फोहोर फाल्न नपाइने प्रावधान छ । 

फोहोरमैला डम्पिङ साइटका कारण विमान सुरक्षा र यात्रुको जीवनका लागि खतरा उत्पन्न हुन सक्ने थापाको भनाइ छ । बर्ड स्ट्राइक विमान उडानको सुरक्षा सबैभन्दा ठुलो चुनौती रहेको उहाँको भनाइ छ । फोहोरमैला डम्पिङ साइटले पन्छीलाई आकर्षण गर्न सक्छ, जसले विमानको पङ्खा र अन्य महत्वपूर्ण भागमा क्षति पु¥याउन सक्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइसिएओ) का अनुसार विमानस्थलको पाँच किलोमिटरभित्र कुनै पनि ठुलो डम्पिङ साइट हुनुहुँदैन ।” 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले फोहोरमैला व्यवस्थापनका लागि तीनै वटा पालिका मिलेर रोहिणीमा करिब आठ बिघा जग्गाको व्यवस्थापन गरे पनि केही राजनीतिक दलका नेताले जनता भड्काउने काम गरेका कारण अवरोध भएको बताउनुभयो ।