• १७ वैशाख २०८२, बुधबार

अतिक्रमण गरिएको आठ बिगाहा जग्गा खाली

blog

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर लगाएर उक्त जग्गा खाली गरिँदै । तस्बिर: गोरखापत्र

पुरुषोत्तम सुवेदी

नवलपरासी पश्चिम, वैशाख १७ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर लगाएर उक्त जग्गा खाली गराएको छ । पटक पटक ताकेता गरे पनि अटेर गरिएपछि पालिकाले विभिन्न ठाउँका अतिक्रमित जग्गा खाली गराएको हो ।

अहिलेसम्म झन्डै आठ बिगाहा सार्वजनिक जग्गा खाली गराएर विभिन्न संरचना निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भयो । व्यक्तिहरूले विद्यालय तथा अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न भौतिक संरचना निर्माण गर्न थालेपछि गाउँपालिकाले रोक लगाएर अतिक्रमित जग्गा खाली गराएको हो।

वडा नम्बर ३ मा प्रशासनिक भवन निर्माणका लागि १९ कट्ठा जमिन खाली गराइएको, वडा नम्बर ५ मा १५ शय्या अस्पताल निर्माणका लागि २ बिघा १२ कट्ठा त्यसै गरी वडा नम्बर ७ मा विद्यालयको नाममा रहेको जग्गा वडा कार्यालय निर्माणका लागि जोत भोग गरिरहेको अवस्थामा खाली गराइएको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

यस्तै अतिक्रमित भएका अन्य स्थानहरू पनि खाली गराइएको उहाँले जानकारी दिनुभयो ।सार्वजनिक जग्गा अतिक्रमण भएका ठाउँहरूमा पालिका निर्मम भएर अघि बढ्ने अध्यक्ष चौधरीले बताउनु भयो ।

अतिक्रमित जग्गा  खाली गराई पालिकाले खेल मैदान निर्माणका लागि चरणबद्ध रूपमा २० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको छ। अतिक्रमण गरेका जमिनलाई खाली गराएर विकास निर्माण र अन्य आवश्यकता अनुसारका काम अघि बढाइने र यो अभियान निरन्तर जारी रहने प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले बताउनुभयो ।