कञ्चनपुर, वैशाख १७ गते । पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ । त्यसै क्रममा यहाँका एक कृषकले ड्रोनको प्रयोग गरेर कृषि कार्य गर्दै आउनुभएको छ ।
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक १० वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनासाथ काठमाडौँ पुग्नुभएको थियो । तथापि काठमाडौँको एक ‘पोलिहाउस’ मा टमाटर खेती देखेपछि उहाँ स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किनुभयो । काठमाडौँबाट टमाटरको बिउ लिएर कञ्चनपुर फर्किनुभएका उहाँले त्यसयता विदेश जाने योजना बनाउनुभएको छैन ।
“काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीन वटा पोलिहाउस बनाएर टमाटर खेती गरेँ । त्यसबाट फाइदा भएन । त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ,” उहाँले भन्नुभयो । उहाँले भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिनुभएको छ ।
तालिमपछि खेतीमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर रु. एक करोड रुपियाँभन्दा बढीको कृषियन्त्र जोड्नुभएको छ । उहाँ हाल वार्षिक २६ लाख रुपियाँसम्म आम्दानी गर्नुहुन्छ । उहाँले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो, धान खेती जस्ता कृषि उपज उत्पादन गर्दै आउनुभएको छ । वडायकले खेती विस्तार गरेर वार्षिक एक करोड रुपियाँसम्म कमाउने लक्ष्य राखेको बताउनुभयो । उहाँले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले हालसम्म खेतीबाट प्राप्त आम्दानीले रु. एक करोडभन्दा बढी मूल्यका कृषियन्त्र खरिद गर्नुभएको छ । ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै १० लाख रुपियाँमा ड्रोन खरिद गरेको उहाँले सुनाउनुभयो । उहाँले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादनसमेत वृद्धि भएको बताउनुभयो ।
उहाँका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बिउबिजन र विषादीलगायत आवश्यक कीटनाशक औषधी छर्कने गर्नुभएको छ । उहाँका अनुसार ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किन्छ र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन ।
ड्रोनको प्रयोगले बिउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उहाँको भनाइ छ । उहाँलाई खेतीमा उहाँका परिवारका सदस्यले समेत सहयोग गरेका छन् । उहाँले सिजनमा ३० देखि ४० जनालाई रोजगारी दिने गर्नुभएको छ ।
सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाख रुपियाँसम्मको उत्पादन गर्ने गरेकामा आफूले एक बिघामा करिब १४ लाख रुपियाँसम्मको उत्पादन गर्ने लक्ष्य लिएको भन्दै प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुने जनाउनुभयो । उहाँले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको उहाँको अनुभव छ ।
वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वाेत्कृष्ट कृषक र भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत सम्मानित भइसक्नुभएको छ । “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल एप सुरु गर्ने तयारीमा रहेको जनाउँदै त्यसमा कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिने छ,” उहाँले भन्नुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                